अमेरिकाले हालै अफगानिस्तानस्थित बगराम एयरबेस लिन चाहेको सार्वजनिक भएको छ । अफगानिस्तानमा तालिवानको संघर्षताका अमेरिकी सैनिक त्यहाँ तैनाथ थिए । पछि तालिवान सरकारमा आएपछि अमेरिकाले आफ्नो सेना पनि फिर्ता बोलाएको थियो । अमेरिकाले आफू त्यहाँ रहँदा बगराम एयरबेस निर्माण गरेको र आफूलाई फिर्ता नदिए नराम्रो हुने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।
एउटा एयरबेसमा अमेरिकाको किन यति धेरै चासो त ? अहिले विश्वमा दुई शक्तिराष्ट्रको प्रतिस्पर्धा छ । एकातर्फ अमेरिका छ, जो आफू विश्वकै शक्तिशाली राष्ट्र हो भन्ने विरासत कायम गर्न चाहन्छ, अमेरिकाको साथमा पश्चिमा देशहरु केही पश्चिम एसियाका देशहरु छन् । अर्कोतर्फ उदाउँदो शक्ति चीन छ, जो अमेरिकाको प्रभुत्व तोड्ने प्रयासमा छ । चीनको साथमा पनि रुस, उत्तर कोरियालगायत देशहरु छन् । एसिया होस् वा युरोप, वा दक्षिण अमेरिका र अफ्रिका, सबैतिर अमेरिका र चीन नै आफ्नो प्रभुत्व कायम गर्ने प्रयासमा छन् । यो द्वन्द्वको असर भने अन्य राष्ट्रमा परिरहेको देखिन्छ । केही वर्षयता रुस र युक्रेन युद्ध चलिरहेको छ । अमेरिका तथा पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोमा युक्रेन सहभागी हुन खोज्दा यो युद्ध चर्किएको हो । आफ्नो सीमा क्षेत्रमा नै नेटो आइपुग्ने भएपछि रुसले पनि प्रतिकार गरेको छ ।
विश्व राजनीतिको द्वन्द्वको असर भने अफगानिस्तानजस्ता देशहरुले पनि भोग्नुपरिरहेको छ । अफगानिस्तानको सन्दर्भमा, अमेरिकाले बगराम एयरबेस लिन चाहनुको कारण हो त्यो स्थानबाट एक घण्टाको दूरीमा चीनको आणविक हतियार निर्माण हुने स्थल । पछिल्ला दुई दशकमा तीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुश, बाराक ओबामा र डोनाल्ड ट्रम्पले यसको भ्रमण गरिसकेकाले पनि यस अड्डाको महत्व बुझ्न सकिन्छ । सन् २०११ मा जो बाइडन उपराष्ट्रपति हुँदा बगराम भ्रमण गरेका थिए । बगराम एयरबेसबाट चीन, इरान, पाकिस्तान, भारत सहित मध्य एशियाली देशहरूसम्म सजिलै हवाई पहुँच पु¥याउन सकिन्छ । विशेषज्ञहरूका अनुसार यो एयरबेस दक्षिण एसिया, मध्य एशिया र पश्चिम एशियाबीचको ‘रणनीतिक केन्द्र’ हो । अमेरिकाका लागि यो स्थान चीन र रुसको प्रभाव क्षेत्र निगरानीका दृष्टिले अत्यन्त उपयोगी मानिन्छ । ‘एयर क्यालकुलेटर’ वेबसाइटका अनुसार, यो एयरबेसबाट तेहरानको हवाई दूरी करिब १ हजार ६४४ किलोमिटर छ । तेहरान अहिले अमेरिकासँग आणविक कार्यक्रमको विवादमा छ ।
यही कारण अमेरिकाले बगराम एयरबेसका कारण एसियाको यो क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउन चाहिरहेको छ । तर, अफगानिस्तानसँगै चीन, भारतलगायत देशहरुले भने अफगानिस्तानको सार्वभौमसत्तामा जोड दिएका छन् भने अमेरिकी रणनीतिको विरोध गरेको छ । नेपालमा पनि विदेशी शक्तिहरुको चलखेल बढिरहेको बेला सरकारले आफ्नो सार्वभौमसत्ताको हितलाई हेर्न जरुरी छ । जनधारणा साप्ताहिक

















