सर्वोच्चमा मधेस प्रदेश सरकार गठनविरुद्ध रिट दायर

25

जनकपुरधाम । मधेस प्रदेश सरकार गठनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सोमबार रक्कीप्रसाद साह र सुजित यादवले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दर्ता गराएका हुन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको नेताको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो।

साहले नेपालको संविधानको धारा १६८ को उपधारा २ जिवित हुँदाहुँदै संविधान उल्लंघन गरेर उपधारा ३ बमोजिम सरकार बनेकाले रिट दिएको बताए। रिट निवेदनको अन्तिम किनारा नलागेसम्म मुख्यमन्त्री नियुक्तिको निर्णय यथास्थितमा राख्ने आदेश माग गरिएको छ।

शनिबार मधेस प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्र प्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि आइतबार यादवलाई नियुक्त गरेर सोमबार बिहान बर्दिबासको पानस होटलमा प्रदेश प्रमुख भण्डारीले शपथ गराएकी थिइन्।

प्रदेश प्रमुखले यादवलाई संविधानविपरीत नियुक्त गरेको भन्दै सात दलले पनि सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी गरेका छन्। जसका लागि ७ दलका ७४ जना सांसदको हस्ताक्षरसमेत संकलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here