काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा जाने भएका छन् ।
उपाध्यक्षहरू रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा.पुष्पराज कर्णिकार, केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर रजुले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरिएको जानकारी दिएका हुन् ।
“…अतः हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।
संघीय परिषद्का अध्यक्ष श्रेष्ठ नेकपासँगको वार्ता टोलीमा थिए । पार्टी एकताको विषयमा मतभेद भएपछि उनीहरूले पार्टी छाडेका हुन् ।


















