रवि लामिछाने भरतपुर विमानस्थलतर्फ उडे

19

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने मौसमका कारण भैरहवा जान नपाएपछि भरतपुर विमानस्थलतर्फ उडेका छन् ।

उच्च अदालत अदालत तुलसीपुर बुटवल इजलासलले सहकारी ठगीसहितको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सोहीअनुसार उनी काठमाडौंबाट रुपन्देही जान शुक्रबार बिहान करिब ७ बजेदेखि त्रिभुवन विमानस्थलमा पुगेका थिए । तर, भैरहवा विमानस्थल क्षेत्रमा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि काठमाडौंबाट हुने उनको त्यसतर्फको उडान रोकियो ।

यसपछि उनी भरतपुर विमानस्थलसम्म विमानमा जाने र त्यहाँबाट स्थलमार्ग हुँदै भैरहवा जान काठमाडौं विमानस्थलबाट उडेका हुन् । शुक्रबार दिउँसो १ः३० बजे उनी श्री एयरको विमानमार्फत चितवन गएका हुन् ।

रवि भरतपुरसम्म विमानमा र त्यहाँबाट गाडीमा भैरहवा जाने बताइएको छ ।

बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई बिगो रकमबराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही प्रक्रिया पूरा गर्न रुपन्देही जिल्ला अदालत जान रवि शुक्रबार बिहान नक्खु कारागारबाट निस्केका थिए ।

बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतवापत राखेर थुनामुक्त गर्न आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here