काठमाडौं । खोला मापदण्ड खारेजीको माग राख्दै खोला मापदण्डबाट पिडित जनताले आज राजधानीमा विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेका छन्।
अाज २०८२ साल पौष २३ गते बुधबार बिहान १०:३० बजे राजधानीकाे विभिन्न स्थानबाट निकालिएको माेटरसाइकल र्याली काठमाडौं उपत्यकाका विभिन्न मुख्य सडक हुँदै सशक्त रूपमा अघि बढेको हो।
र्यालीमा सहभागी पीडितहरूले
“फैसला होइन न्याय दे”,
“खोला मापदण्ड खारेज गर”,
“जनताको जिउने अधिकार सुरक्षित गर”,
“जनतालाई उथिबास पार्ने नीतिनिर्मातालाई कारबाही गर”,
“कठपुतली सरकार होसियार होसियार”,
“जनताको घर, जग्गाको सुरक्षा गर”
जस्ता नाराहरू घन्काउँदै सरकारको जनविरोधी नीतिको तीव्र विरोध जनाएका थिए।
मोटरसाइकल र्याली जमिनको चक्रपथ परिक्रमा गर्दै अघि बढी काठमाडौं महानगरपालिका कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो। कोणसभामा वक्ताहरूले खोला मापदण्डका नाममा जनतालाई विस्थापित गर्ने नीति संविधानले सुनिश्चित गरेको आवास र जिउने अधिकारविरुद्ध रहेको भन्दै तत्काल खारेजीको माग गरेका थिए।
वक्ताहरूले स्पष्ट मापदण्ड, पीडितसँग संवाद र वैकल्पिक व्यवस्थाबिनै गरिएको निर्णयले हजारौं नागरिकको घर, जग्गा र भविष्य असुरक्षित बनेको आरोप लगाएका छन्। सरकार जनताको पक्षमा उभिन नसके जनआन्दोलन अझ सशक्त बनाइने चेतावनीसमेत उनीहरूले दिएका थिए।
कोणसभा सम्पन्न पश्चात् र्याली पुनः मोटरसाइकलमार्फत ललितपुरतर्फ अघि बढेको छ। पीडितहरूले आफ्नो न्याय सुनिश्चित नहुँदासम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन्।


















