काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै मोदीले प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको जनाएका छन् ।
मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् ।
प्रशान्तको जीवन यात्राले युवालाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गर्दै मोदीले शोकपत्रमा लेखेका छन्, ‘यस कठिन घडीमा उहाँसँग बिताएका क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गर्नेछ । परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्रदान होस् ।’
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनमा दुःख व्यक्त गरेकी छन् । आइतबार हृदयघातबाट प्रशान्तको नयाँ दिल्लीमा निधन भएको थियो । उनको आज अन्त्येष्टि गरिँदैछ ।



















