काठमाडौं । आजकल धेरैजसो डिजिटल प्लेटफर्म वा वेबसाइटले जिमेल अकाउन्ट मार्फत सिधै ‘साइन-अप’ गर्ने सुविधा दिने गरेका छन् । यसरी साइन-अप गर्दा ती प्लेटफर्मले प्रयोगकर्ताको अनुमति अनुसार गुगल अकाउन्टमा भएको नाम, ईमेल ठेगाना र प्रोफाइल पिक्चर जस्ता विवरण प्रयोग गर्छन् ।
कतिपय साइटले सेवाको प्रकृति हेरी अन्य थप विवरण पनि लिन सक्छन् । यसरी साइन-अप गरिएका प्लेटफर्मले प्रयोगकर्तालाई नियमित रूपमा आफ्ना अपडेट वा जानकारी पनि ईमेलमार्फत पठाइरहेका हुन्छन् । कतिपय अवस्थामा हामी आफैँले पनि जानकारी पाउनका लागि विभिन्न न्युजलेटर वा साइट सब्स्क्राइब गरेका हुन्छौँ । तर, समयसँगै ती प्लेटफर्म हाम्रा लागि असान्दर्भिक हुन सक्छन् र तिनले पठाउने अनगिन्ती ईमेल झन्झटिला लाग्न सक्छन् । यस्ता ईमेलका कारण महत्त्वपूर्ण ईमेल छुट्ने डर समेत हुन्छ ।
यसै कुरालाई ध्यानमा राख्दै गुगलले जिमेलमा ‘मेनेज सब्स्क्रिप्सन’ को फिचर थपेको छ । यो फिचर अन्तर्गत तपाईँले सब्सक्राइब गर्नुभएका सबै प्लेटफर्मको सूची एकै ठाउँमा देख्न सक्नुहुन्छ । यसको मद्दतले आफूलाई आवश्यक नभएका वा झन्झटिला लाग्ने प्लेटफर्मलाई क्षणभरमै ‘अनसब्सक्राइब’ गर्न सकिन्छ ।
कसरी प्रयोग गर्ने मेनेज सस्क्रिप्सन फिचर ?
-
सबैभन्दा पहिला आफ्नो फोनमा जिमेल एप खोल्नुहोस् ।

-
त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइन भएको मेनुबारमा ट्याप गर्नुहोस् ।
-
अनि ‘मेनेज सब्स्क्रिप्सन्स’ को अप्सन छान्नुहोस् ।

-
त्यहाँ तपाईँले आफूलाई ईमेल पठाइरहने प्लेटफर्मको नाम देख्नु हुनेछ ।
-
आफूलाई आवश्यक नभएको प्लेटफर्मको नामको बायाँपट्टि रहेको मेलको आइकनमा ट्याप गर्नुहोस् ।
-
र, अन्तिममा अनसब्सक्राइबको बटन ट्याप गर्नुहोस् ।
यसो गर्दा एकै पटकमा उक्त प्लेटफर्म अनसब्सक्राइब हुन्छ । आफूलाई अनावश्यक ईमेल पठाउने प्लेटफर्म खोजेर छुट्टाछुट्टै अनसब्सक्राइब गर्ने झन्झट यो नयाँ फिचरले हटाएको छ ।


















