काठमाडौं । यहि २७ चैतदेखि एकल प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ ले युट्युबमा सकारात्मक प्रतिक्रियासहित राम्रो भ्यूज पाइरहेको छ ।
रहस्य, रोमान्स र एक्सन तत्वले भरिपूर्ण ट्रेलरले अहिले भिडियो साझेदारी सञ्जाल युट्युबमा दर्शकको मन जितेको देखिन्छ । माइकल चन्द निर्देशित फिल्मको ट्रेलरलाई २४ घण्टामै १० लाखभन्दा धेरै पटक हेरिएको थियो ।
ट्रेलरमा ३ हजार प्रतिक्रिया छन् भने ३१ हजारभन्दा धेरै लाइक छन् । दर्शकीय इन्गेजमेन्ट राम्रै देखिन्छ । ट्रेलरबाट पाएको उत्कृष्ट प्रतिक्रियाले आफू अझै उत्साहित भएको निर्देशक चन्दले बताए ।
ट्रेलरमा दमदार एक्सन र संवाद छ । सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम, विराज र सुशीलविचको एक्सन ट्रेलरमा समावेश छ । यसै फिल्मबाट डेब्यू गरेका कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरीको भूमिका विशेष देखिएको छ । उनको सस्पेन्स भूमिका दर्शकका लागि उत्सुकता जगाउने खालको छ ।
डेब्यू अभिनेत्री खुशी कार्कीले भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत चर्चामा छ । फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारको अभिनय छ ।
आयुषविक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बालकलाकारको रुपमा छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेकाे छ ।
कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । यस्तै, फिल्मका सह-निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताको रुपमा छन् । मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् ।
काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण छ । चलचित्रमा समावेश ‘धागोले बाटेको’ बोलको गीतलाई युट्युबमा ६० लाख पटक हेरिएको छ । नेपाली नयाँवर्षको छेकोमा सोलो रिलिजमा आउन लागेको चलचित्रले बक्सअफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण वितरक गोविन्द शाहीको छ ।
















