एजेन्सी । अमेरिका र चीनबीच कृत्रिम बुद्धिमत्ता (एआई) लाई लिएर भइरहेको प्रतिस्पर्धा अब थप टकरावपूर्ण चरणमा प्रवेश गरेको छ ।
सुरुमा नवप्रवर्तनको दौडका रूपमा सुरु भएको प्रतिस्पर्धा अहिले जनशक्ति, बौद्धिक सम्पत्ति र रणनीतिक प्रविधिहरूमाथिको नियन्त्रणको संघर्षमा परिणत भएको छ । चिनियाँ एआई कम्पनी मानुसलाई मेटाले खरिद गर्न खोज्दा चिनियाँ सरकारले लगाएको रोकले राष्ट्रिय हितको रक्षाका लागि दुवै पक्ष कसरी कर्पोरेट गतिविधिमा सीधा हस्तक्षेप गर्न तयार छन् भन्ने देखाउँछ ।
मेटालाई मानुस खरिद गर्ने सम्झौता रद्द गर्न लगाउने चीनको पछिल्लो आदेशले आफ्नो अत्याधुनिक एआई प्रविधिलाई सुरक्षित राख्ने उसको मनसाय देखाउँछ । सम्झौता भइसकेपछि त्यसलाई उल्ट्याउने काम विरलै हुन्छ जसले गर्दा यो हस्तक्षेप विशेष रूपमा चर्चामा छ ।
भइसकेको कारोबारलाई लक्षित गरेर चिनियाँ अधिकारीहरूले के स्पष्ट पारेका छन् भने एआई जस्ता संवेदनशील क्षेत्रमा हुने सीमापार सम्झौताहरूले भविष्यमा पनि कडा छानबिनको सामना गर्नुपर्नेछ ।
मानुसको मामिला धेरै पक्षबाट अर्थपूर्ण छ । यस स्टार्टअपले आफ्नो सञ्चालन आधार सिंगापुरमा सार्न सुरु गरिसकेको थियो जुन घरेलु प्रतिबन्धहरूबाट बच्दै विदेशी पुँजी आकर्षित गर्ने रणनीति थियो । तर, त्यस रणनीतिलाई अहिले सीधा चुनौती दिइएको छ ।
यसबाट के सन्देश दिइएको छ भने कम्पनीको आधारभूत सम्पत्ति रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ भने कानुनी संरचना वा मुख्यालय अन्यत्र सारेर मात्र सरकारी निगरानीबाट बच्न सकिने छैन ।
मानुसका कार्यकारीहरूलाई चीन छोड्न लगाइएको प्रतिबन्धले यस प्रतिक्रियाको गम्भीरतालाई थप पुष्टि गर्छ । यसले एआई जनशक्ति र बौद्धिक सम्पत्तिमाथि नियन्त्रण कायम राख्ने व्यापक प्रयासलाई झल्काउँछ । चीनका लागि मुख्य चिन्ता आफ्नो क्षमता विदेशी प्रतिस्पर्धीको हातमा पुग्नबाट रोक्नु हो ।
रोयटर्सको रिपोर्ट अनुसार, मेटाले एआई एजेन्टहरूमा आफ्नो क्षमता बढाउन मानुसलाई खरिद गरेको थियो । एआई एजेन्टहरू त्यस्ता उपकरण हुन् जसले मानव हस्तक्षेप बिना नै च्याटबोट भन्दा जटिल कार्यहरू गर्न सक्छन् ।
गत वर्षको सुरुमा सरकारी मिडियाले मानुसलाई चीनको अर्को डीपसीकका रूपमा प्रशंसा गरेका थिए । मानुसले आफ्नै एआई मोडेल बनाउँदैन, बरु पश्चिमा लार्ज ल्यांग्वेज मोडलहरूमाथि काम गर्ने एउटा फ्रेमवर्क बनाउँछ ।
अंकुरा चाइना एडभाइजरका प्रबन्ध निर्देशक अल्फ्रेडो मोन्टुफार–हेलुले रोयटर्सलाई बताए अनुसार, एआई अहिले विश्वका दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ ।
“चीनले भनिरहेको छ, हामी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण मानिने सम्पत्तिको वैदेशिक खरिदलाई रोक्नेछौं र एआई स्पष्ट रूपमा तीमध्ये एक हो,’ उनले भने ।
अर्कोतर्फ अमेरिकाले पनि आफ्ना रक्षात्मक उपायहरूको दायरा फराकिलो बनाउँदैछ । ह्वाइट हाउसको हालैको नीतिगत टिप्पणीले के देखाउँछ भने मोडल डिस्टिलेसन, जुन उन्नत एआई प्रणालीहरूको प्रदर्शनलाई प्रतिलिपि गर्न प्रयोग गरिने प्रविधि हो, लाई अब बौद्धिक सम्पत्ति चोरीको रूपमा हेरिनेछ । यसले हार्डवेयरमा आधारित नियन्त्रणबाट प्राविधिक संरक्षणको व्यापक दृष्टिकोणतर्फको परिवर्तनलाई संकेत गर्छ ।
यसका प्रभावहरू निकै ठूला छन् । कुनै समय उन्नत सेमिकन्डक्टरहरूको निर्यात प्रतिबन्ध मात्र आफ्नो अग्रता कायम राख्ने मुख्य हतियार थियो । अब यो दायरा विस्तार भएर एल्गोरिदम, डेटा पहुँच र एपीआई मार्फत मोडलहरू बीच हुने अन्तर्क्रियासम्म पुगेको छ ।
निजी कम्पनीहरूसँगको गुप्तचर सूचना आदानप्रदान र क्षमता चोरी गरेको आशंकामा संस्थाहरूलाई कालोसूचीमा राख्ने सम्भावनाले अमेरिकाको थप समन्वयात्मक र आक्रामक अडानलाई संकेत गर्छ ।
अमेरिकामा अहिले देखिएको चिन्ताको ठूलो हिस्सा एआई विकासको अर्थशास्त्रमा आएको परिवर्तनबाट उब्जिएको हो । डीपसीक’ जस्ता चिनियाँ प्रणालीहरूको प्रगतिले एउटा पुरानो मान्यतालाई चुनौती दिएको छ । भारी पुँजी लगानी र अत्याधुनिक हार्डवेयरबाट मात्रै उत्कृष्ट मोडलहरू बनाउन सकिन्छ ।
कम लागतमा प्रतिस्पर्धी प्रदर्शन हासिल गर्न सक्ने क्षमताको रणनीतिक महत्त्व छ । यसले महँगो पूर्वाधारमा पहुँच सीमित गर्ने निर्यात नियन्त्रणको प्रभावकारितालाई कमजोर बनाउँछ ।
बढ्दो तनावका बाबजुद क्षमताको सन्तुलन जटिल नै छ । अमेरिका अझै पनि फ्रन्टियर मोडलको प्रदर्शन, विशेषगरी तार्किक क्षमता र मल्टिमोडल कार्यहरू, मा अगाडि छ । यद्यपि, यो खाडल साँघुरिँदै गएको छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयको सन् २०२६ एआई इन्डेक्स रिपोर्टले पुष्टि गरेअनुसार, प्राकृतिक भाषा बुझ्ने र कोड जेनरेशन जस्ता क्षेत्रमा चीनले ठूलो प्रगति गरेको छ । सन् २०२३ मे महिनामा अमेरिकाको जीपीटी–४ र चीनका मोडलहरू बीच ३०० अंकको अन्तर थियो जुन २०२६ मार्चसम्म आइपुग्दा मात्र ३९ अंकमा खुम्चिएको छ ।
चीनको अर्को सबल पक्ष यसको व्यापकता हो । विश्वव्यापी एआई प्रकाशन र पेटेन्टहरूमा चीनको हिस्सा ठूलो छ । औद्योगिक प्रयोगमा विशेषगरी उत्पादन र ढुवानीमा रोबोटिक्सको प्रयोगमा चीन अगाडि छ ।
यद्यपि, कडा सामग्री नियन्त्रणका कारण चिनियाँ मोडलहरू विश्वसनीयता र एलाइनमेन्टमा भने केही पछाडि छन् ।
अल्गोरिदम र नीतिबाहेक दुईवटा संरचनात्मक कारकहरू निर्णायक बनिरहेका छन्ः जनशक्ति र ऊर्जा । अमेरिकाले अझै पनि विश्वभरका प्रतिभाहरूलाई आकर्षित गरिरहेको छ भने चीनले आफ्ना घरेलु एआई इन्जिनियरहरूको संख्या द्रुत गतिमा बढाइरहेको छ ।
त्यस्तै, ऊर्जा पनि एक महत्त्वपूर्ण अवरोधको रूपमा देखा परिरहेको छ । उन्नत एआई प्रणालीहरूका लागि ठूलो मात्रामा बिजुली खपत हुन्छ । अमेरिकाले डेटा सेन्टर पूर्वाधार विस्तारका लागि ग्रीड क्षमता र नियामक अवरोधहरूको सामना गरिरहेको छ । चीनको ऊर्जा प्रणालीलाई छिटो निर्माण र विस्तार गर्न सक्ने क्षमताले उसलाई दीर्घकालीन फाइदा पुग्न सक्छ ।
यी घटनाक्रमहरूले एआई दौडको प्रकृतिमा आएको मौलिक परिवर्तनलाई बुझाउँछन् । यो अब कसले राम्रो मोडेल बनाउँछ भन्ने मात्र नभई कसले ती मोडलहरूलाई सम्भव बनाउने इकोसिस्टम (चिप, डेटा, जनशक्ति र पूर्वाधार) माथि नियन्त्रण गर्छ भन्ने हो ।
कर्पोरेट निर्णय, लगानी प्रवाह र अनुसन्धान प्रविधिहरू समेत अब भूराजनीतिक छानबिनको घेरामा छन् । व्यापारिक प्रतिस्पर्धा र राष्ट्रिय सुरक्षा बीचको सीमा मेटिँदै गएको छ ।
एआई युद्ध शब्द अझै पनि आलंकारिक हुन सक्छ तर दुवै पक्षका कदमहरू थप प्रत्यक्ष र परिणाममुखी बन्दै गएका छन् । क्षमताको खाडल कम हुँदै जाँदा र दाउ बढ्दै जाँदा थप टकरावको सम्भावना पनि बढ्दै गएको छ । आउँदो समय विश्वव्यापी शक्तिको अर्को युगको नियमहरू परिभाषित गर्ने संघर्षको समय हुनेछ ।















