काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिको आन्तरिक क्रियाकलापहरुको समीक्षा, राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनलगायत विषयमा छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको बैठक सञ्चालन कार्यविधि सम्बन्धमा छलफल हुनेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय सदाचार नीति–२०८३ को कार्यान्वयनको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।


















