काठमाडौं । भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा विध्वंश निम्त्याएको छ । बाढी गल्छी हुँदै मलेखु पुगेकाले क्षतिको विस्तृत विवरण आइसकेको छैन । बाढीले टिमुरे भन्सार कार्यालय, तीनवटा प्रहरी चौकी, नुवाकोट कारागार, तटीय क्षेत्रमा रहेका बजारहरू खण्डहर तुल्याएको प्रारम्भिक विवरण छ ।
रसुवा बाढीको कारणबारे हामीले बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ जलविद् विनोद ढकाललाई सोध्यौं ।
रसुवा वा उपल्लो क्षेत्रमा पानी परेर बाढी आएका नभइ तिब्बती क्षेत्रबाटै उत्पत्ती भएको यकिन भएको छ । ढकालका अनुसार तिब्बती निकायले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दुई फरकफरक सूचना दिएको छ ।
उनका अनुसार सुरूमा तिब्बती निकायले वर्षातका कारण पहिरो खसेर नदी थुनिएको र एक्कासि विस्फोट भएको हुन सक्ने औंल्याएको थियो । पछि हिमताल विस्फोटको आशंका गरेको छ ।
‘के कारणले भीषण बाढी आयो भन्नेमा तिब्बती निकाय पनि यकिन हुन सकेको छैन । सुरूमा पहिरो खसेर थुनिएको नदी एक्कासि खोलिएको हुनसक्ने आकलन गरेको थियो,’ उनले भने, ‘अहिले ग्लफ (हिमताल विस्फोट) को आशंका गरेको छ ।’
उनले रसुवा बाढीबारे विश्लेषण गर्न भूउपग्रह प्रणालीबाट कैद भएका भोटेकोशी नदीको माथिल्लो जलाधार क्षेत्रका तस्बिरहरू झिकाउने काम भइरहेको बताए ।


















