कृष्णभीरमा यातायात सञ्चालन

13

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा १८ दिनपछि आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग बगाएपछि कृष्णभीरमा सडक पूरै भासिएर यातायात अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण गरी आजदेखि दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माणलगायतका काम सकेर आजदेखि नियमित यातायात सञ्चालन गरिएको हो।

नदी कटानबाट कृष्णभीरमा करिब १०० मिटर सडक क्षतिग्रस्त भएको थियो। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि भदौ १८ गतेदेखि ढिस्को काटेर नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो।

पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएपछि छोटो समयमै यातायात सञ्चालन गर्न सम्भव भएको हो। दुई दिनअघिदेखि सडकमा रोकिएका सवारीसाधनलाई साँझको समयमा पार गराउन थालिएको थियो। आजदेखि भने नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।

कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएको यातायात पनि आजदेखि सञ्चालनमा ल्याइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक रूपमा सडक रोकेर भइरहेको पहिरो रोकथामको काम रोकिएको बताए।

लामो समय कृष्णभीरमा सडक अवरुद्ध हुँदा ठूला मालवाहक सवारीसाधन संघीय राजधानी आवतजावत गर्न पाएका थिएनन्। त्यसको असर राजधानीमा एलपी ग्यासको आपूर्तिमा समेत परेको थियो।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते पुनः आएको बाढीले कृष्णभीरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएको थियो। अन्य स्थानमा यातायात सञ्चालनमा आए पनि कृष्णभीरमा सडकको ठूलो भाग नै भासिएपछि समस्या भएको थियो।

कृष्णभीर हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here