राष्ट्र बैंकको राहत प्याकेज आयो

159

काठमाडौं– बैंकको किस्ता तिर्न समस्यामा परेका ऋणीहरूका लागि राष्ट्र बैंकले राहत प्याकेज ल्याएको छ । भूकम्प र भारतीय नाकाबन्दीका कारण राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरी ऋणीलाई विशेष सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।
कर्जा नोक्सानी व्यवस्था, कर्जाको पुनर्तालिकीकरण, आम्दानी तथा खर्च लेखाङ्कन, ग्रेस अवधि र टीआर कर्जा सम्बन्धित सहुलियतको घोषणा राष्ट्र वैंकले गरेको छ । २०७१ चैत मसान्तसम्म सक्रिय रहेका ऋणीहरूका लागि राहत प्याकेज ल्याएको जनाइएको छ । हाल उत्पन्न असहज परिस्थितिका कारण ऋण तिर्न नसक्ने अवस्थामा पुगेका ऋणीहरूका लागि कर्जाको साावा, ब्याज वा किस्ता रकम २०७२ पुस मसान्तसम्ममा प्राप्त भएमा त्यस्तो कर्जालाई पनि असल कर्जामा नै वर्गीकरण गरिने छ । भुक्तानी ढिलो भएको भन्दै बैंकले कुनै पनि प्रकारको पेनाल्टी ब्याज वा शुल्क लिन नपाउने व्यव्स्था गरिएको छ । त्यसैगरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन (होटल, एयरलाइन्स, ट्राभल एजेन्सी आदि) र ऊर्जा (जलविद्युत् उत्पादन, प्रशारण र वितरण आदि) लगायत सेवा क्षेत्रका ऋणीले कर्जाको पुनर्संरचना गर्न चाहेमा एक पटकका लागि एक वर्षसम्म कर्जा भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, सूक्ष्म निगरानीको कर्जाको प्रतिशत घटाएर २०७३ असार मसान्तसम्म ४ प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्थालाई दुई प्रतिशतमा झारिएको छ । गत असोज मसान्तसम्मको ब्याज आम्दानी लेखाङ्कन गर्ने प्रयोजनका लागि २०७२ असोजसम्म पाकेको ब्याज कात्तिक मसान्तसम्म प्राप्त भएमा पनि त्यो रकम असोजको आम्दानीमा देखाउन पाइने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here