पूर्वसांसदहरूलाई सेवा सुविधा चाहियो

161

काठमाडौ/पूर्व विशिष्टहरूको उपचार खर्च तथा सेवासुविधाका नाममा राज्यकोषबाट ठूलो धनराशी खर्च भएको भन्दै खर्च कटौतीको माग भइरहेका बेला पूर्वसांसदहरूले आफूहरूलाई पेन्सन, उपचार खर्च तथा यातायातलगायतका सुविधाको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । पूर्वसांसद क्लबका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा गएका सबै राजनीतिक दल आबद्ध पूर्वसांसदहरूले पूर्वसांसदहरूको मर्यादाक्रम निर्धारण गर्दै सेवा सुविधा दिन माग गरेका छन् । उनीहरूले विगतमा बहालवाला सांसदपछिको वरियताक्रममा पूर्वसांसद रहने व्यवस्था भए पनि हाल त्यस्तो व्यवस्था हटेको भन्दै दु:ख व्यक्त गरेका छन् । पूर्वसांसदहरूले विभिन्न मुलुकहरूमा पूर्वसांसदहरूको नि:शुल्क उपचार, यातायातमा छुट तथा मासिक पेन्सनलगायतका सुविधा हुने गरेको भन्दै नेपालमा पनि त्यस्तो व्यवस्था हुनुपर्ने माग राखेका थिए । सबै दल आबद्ध सांसदहरूको फोरमसमेत रहेको पूर्वसांसद क्लबलाई राजनीतिक दलहरूमा सहमति जुटाउने थलोका रूपमा पनि प्रयोग गर्न पनि पूर्वसांसदहरूले प्रधानमन्त्रीसाग आग्रह गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बैठकमार्फत पूर्वसांसदहरूले उठाएका विषयहरूलाई सम्बोधन गर्न सकिने भन्दै उक्त मागलाई मन्त्रिपरिषदमा छलफलका लागि लैजाने आश्वासन दिएको पूर्वसांसदहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here