काठमाडौं । क्रान्तिकारी पत्रकारहरुबीच एकता भई गठन भएको प्रेस सेन्टरले महेश्वर दाहाललाई अध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरेको छ । चार महिनाअघि गठन भएको प्रेस सेन्टर नेपालको असोज १३ र १४ गते काठमाडौंमा सम्पन्न भएको एकता महाधिवेशनले दाहाललाई सर्वसम्मत चयन गरेको हो ।
योजना, जनादेशलगायतका पत्रिकामा महत्वपूर्ण भूमिकामा रहेर काम गरेका दाहाल पृष्ठभूमि, महिमा र ज्वाला साप्ताहिकमा समेत संलग्न रहेका थिए । प्रेस सेन्टर नेपालको एकताको महाधिवेशनको असोज १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका प्रेस सेन्टरका संयोजक गोविन्द आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रातोपाटी डटकमका प्रधान सम्पादक तथा सञ्चालक ओम शर्माले गरेका थिए भने दीपक मैनालीले अतिथिहरुलाई स्वागत गरेका थिए ।
सञ्चारमन्त्री सुरेद्र कार्की, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालको विशेष अतिथिका रुपमा उपस्थिति थियो ।
उद्घाटनलगत्तै सोही दिन संगठनको बन्द सत्र भएको थियो । सो दिन विधान प्रतिवेदन पास गर्दै १४ गते नेतृत्व चयन गरिएको थियो । सम्मेलनले महेश्वर दाहाललाई अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा गोविन्द आचार्य र उपाध्यक्षहरुमा क्रमश: ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, देवराम यादव र लक्ष्मी पुनलाई चयन गरेको छ । महासचिवमा विष्णु सापकोटा र कोषाध्यक्षमा सुरेशचन्द अधिकारी चयन भएका छन् । ९९ केन्द्रीय समिति र ३३ सदस्यीय सचिवालय समितिको चयन गरिएको छ ।

















