काठमाडौं÷ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका नौ दलका नेताहरूले सरकारले ल्याएको संशोधन प्रस्तावलाई व्यवस्थापिका संसद् बैठकमा छलफलसमेत हुन नपाउने चेतावनी दिएका छन् । एमाले संसदीय दलको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेताहरूले यस्तो चेतावनी दिएका छन् । अरुबाट निर्देशित संशोधन प्रस्तावले मुलुकलाई निकासको सट्टा द्वन्द्वमा लग्ने भन्दै दलका नेताहरूले संशोधन प्रस्ताव फिर्ता लिई संसद् चल्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । मुलुकमा अर्को संवैधानिक सङ्कट आउन नदिन संविधानको कार्यान्वयन गर्नुको विकल्प नरहेको र त्यसका लागि आगामी ०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन आवश्यक रहेको नौवटै दलका नेताहरूको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव असंवैधानिक, अपरिपक्व भएकाले त्यसलाई पारित हुन नदिइने चेतावनी दिएका छन् । सरकारको ध्यान संविधान कार्यान्वयनतिर नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले मुलुक र जनताप्रति गम्भीर हुन सत्तापक्ष दललाई आग्रह गरे । संविधान संशोधनविरुद्घ नौ दल नरहेको तर औचित्य पुष्टि गर्न ओलीले चेतावनी दिएका छन् । नेमकिपाका सांसद प्रेम सुवालले छिमेकी मुलुकले तराई मधेशलाई देशबाट टुक्र्याउन खोजेको आरोप लगाए । नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले संघीयता जनताका लागि भएकाले जनताको हितअनुकूल हुनुपर्ने जोड दिए ।
कसैलाई खुशी पार्न संविधान संशोधन हुन नसक्ने भन्दै उहाँले देश र मुलुकको आवश्यकता अनुकूल हुनुपर्छ भन्दै पुस २२ गते काठमाडौंमा हुने बृहत् प्रदर्शनमा सहभागी हुन संयुक्त आह्वान गरेका छन् ।
नौ दलमा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल बहुजन शक्ति पार्टी र मधेश समता पार्टी नेपाल सहभागी छन् । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम, मालेबाट सीपी मैनाली, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, बहुजन पार्टीका विश्वेन्द्र पासवान, नेपाः पार्टीबाट राजवंशी र मधेशी समता पार्टीबाट मेघराज नेपाली निसादको सहभागिता थियो ।
यसैबीच नेकपा एमालेले रािष्ट्रय एकताको समर्थन तथा संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध जनप्रदर्शनलाई भव्यरूपमा सफल बनाउन आफ्ना जनवर्गीय संगठनहरूलाई निर्देशन दिएको छ ।
एमाले प्रचार विभागद्वारा पार्टी मुख्यालय, धुम्बाराहीमा आयोजित जनसंगठनहरूको मेलामा एमाले सचिव प्रदीप ज्ञवालीले पुस २२ गतेको जनप्रदर्शन सफल बनाउने अभियानमा जुट्न जनवर्गीय संगठनहरूलाई निर्देशन गरेका छन् । एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले पुस १५ देखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसंगठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीको काम गरिएको जानकारी गराएका थिए । विरोधसभाको प्रचारका लागि मोटरसाइकल ¥याली र कोणसभा गरिने जानकारी पनि भट्टराईले गराए । प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेश समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षको हस्ताक्षर भएको अपिल घर÷घरमा पु¥याउने योजना बनाइएको जानकारी गराएका थिए ।
















