काठमाडौंको मुटुबाट बग्ने बाग्मती नदी काठमाडौंको सभ्यतासँग पनि जोडिएको छ । तर यो नदी काठमाडौंबासीले हेर्दा हेर्दै बाग्मतीबाट ढलमतीमा परिणत भयो । कारण काठमाडौंमा बसोबास गर्नेहरुले आफ्नो सभ्यतासँग जोडिएको यस नदीलाई फोहोर व्यवस्थापन तथा ढल व्यवस्थापनको माध्यम बनाए । काठमाडौंको सुन्दरतालाई प्रतिनिधित्व गर्ने बाग्मतीको नदी दुर्गन्धित बन्दै गएपछि कतिपय काठमाडौंबासी नै बाग्मती सफा राख्नुपर्छ भन्ने अभियानमा जुटे । यो अभियानलाई वास्तविकतामा बदल्नका लागि अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नै गठन भयो । यही अभियानमा जोडिएर बाग्मती सफाइमा निरन्तर खटिरहने अभियन्ता हुन् माला खरेल । उक्त समितिमार्फत प्रत्येक हप्ताको शनिबार बाग्मती सफाइ अभियान सञ्चालन हुने गरेको छ । झण्डै एक सय ९०औँ हप्ता पूरा गर्न लागेको यो अभियानमा मालाले नियमित रुपमा सहभागिता जनाउँदै आएकी छिन् । समाजशास्त्रमा स्नाकोत्तर तह अध्ययन पूरा गरेकी खरेल विगत १८ वर्षदेखि उक्त समितिको सामाजिक शाखाअन्तर्गत जनचेतना जगाउने काममा सक्रिय रहँदै आएकी छिन् । बाग्मती दिनमा फोहोर नफाल्न काठमाडौंका बासिन्दाहरुको घरघरमा पुगेर सचेत गराउने उनले हरेक शनिबार बाग्मती सफाइ अभियानमा सहभागी जनाउने तथा सरसफाइ एवं जनचेतना जगाउने काम गर्दै आएकी छिन् ।
बाग्मती सफाइको पहिलो सातादेखि नै नियमित रुपमा सहभागिता जनाउँदै आएकी माला सफा बाग्मती हेर्दा हेर्दै ढलमतीमा परिणत भएको देख्ने प्रत्यक्षदर्शी पनि हुन् । बाग्मती नदीमा नुहाउँदै तथा खेल्दै हुर्किएकी उनले आफ्नै आँखा अगाडि बाग्मती ढलमतीमा परिणत भएको देखेपछि यसलाई सफा राख्ने अभियानमा लाग्ने प्रण गरिन् । सुरु–सुरुमा आफूहरु बाग्मती सफाइ अभियानमा लाग्दा सबैले उनको कामप्रति व्यंग्य गर्थे । सम्भव नै नभएको काममा लागेको भन्दै यो अभियानको कैयाँैले खिल्ली उडाएको मालको अनुभव छ । तर अभियानले लामो सफर तय गरिसकेपछि भने मुलुकका जान्ने मान्ने तथा उच्चपदस्थहरु समेत बाग्मती सफाइ अभियानमा जुट्न थालेका छन् । बाग्मती सफाइ अभियानमा चर्चित व्यक्तित्वहरुको समेत सहभागिता हुन थालेपछि सफाइ अभियान बृहत् रुपमा हुन थालेको छ भने यसले देखिने गरी केही परिवर्तन आएको छ । यसबाट अभियन्ता मालाको मुहारमा खुशी छाएको छ ।
बाग्मती सफाइ अभियानमा ठूलो संख्यामा मानिसहरुको उपस्थितिसँगै नदीको पानी पनि विस्तारै सफा बन्दै गइरहेको छ । अभियानअन्तर्गत गत वर्ष गुह्येश्वरीमा अभियन्ता तथा पूर्वमुख्यसचिव लीलामणि पौड्याल लगायतका उच्चपदस्थ अधिकारीहरुले बाग्मती नदीमा नुहाएर बाग्मती सफा भएको सन्देश दिएका थिए । यो अभियान सुरु भएको २०० हप्ता पूरा भएको अवसरमा पुनः मनोहरा दोभानमा संयुक्त रुपमा नुहाउने कार्यक्रम रहेको अभियन्ता खरेलले जानकारी दिइन् । उनले प्रचारको लागि भन्दा पनि २०० हप्ता पुग्दासम्म बाग्मतीको पानी पूर्ण रुपले नुहाउन योग्य हुने दाबी गरिन् ।
सानैदेखि समाज सेवा तथा सामाजिक कार्यमा रुचि राख्ने खरेलले त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । हाल समाजशास्त्रबाटै पीएचडी गर्ने तयारीमा रहेकी उनले अध्ययनसँगै समाज सेवाप्रतिको रुचिका कारण यस अभियानमा जोडिएको जनाइन् । अभियानमा जोडिएसँगै खरेलले हालसम्म कुनै पनि शनिबार अभियानमा जोडिन छुटाएकी छैनन् । चाडपर्व होस् वा महत्वपूर्ण काम उनको लागि बाग्मती सफाइ अभियान पहिलो प्राथमिकता हुने गरेको छ । यो अभियानमा जोडिएपछिको हरेक शनिबार उनको लागि महत्वपूर्ण हुने गरेको छ । एक दिन हुने बिदामा समेत काममा व्यस्त हुँदा सुरु–सुरुमा परिवार पनि उनीसँग असन्तुष्ट हुने गथ्र्याे । तर उनले आफ्नो अभियानलाई निरन्तरता दिन नछोडेपछि परिवारले पनि उनको अभियानमा सहयोग गर्न थाल्यो । जसले गर्दा उनलाई यस अभियानमा लागिरहन थप हौसला मिल्यो । हाल अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमा समाजशास्त्रीका रुपमा कार्यरत उनी बाग्मती पूर्ण रुपमा सफा नभएसम्म यही अभियानमा लागिरहने जनाउँछिन् ।















