म सदनमा नभएकाले जनताको माझमा गइरहेको छु

217

खुमबहादुर खड्का, नेता नेपाली कांग्रेस
संविधानसभाको दोस्रो निर्वाचन परिणामका आधारमा मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल बन्न पुगेको नेपाली कांग्रेसले नेपाललाई धर्मनिरपेक्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्दै संविधानमार्फत त्यसको कार्यान्वयनमा जोड दिइरहेको छ । तर नेपाली कांग्रेसमा केही प्रभावशाली नेताहरु अहिले पनि पार्टीले स्वीकार गरिसकेको परिवर्तनको एजेण्डालाई स्वीकार गर्न सकिरहेका छैनन् । त्यसमध्येका एक हुन् पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का । खड्काको एजेण्डामा ठूलो संख्यामा अन्य कांग्रेसी नेताहरुको पनि समर्थन रहेको छ । नयाँ संविधान जारी हुनुभन्दा केही समय पहिले खड्काले नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका थिए । जनताको भावनाविपरीत नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गरिएको भन्दै खड्काले संविधान संशोधनमार्फत आफ्ना माग पूरा नभए आउँदो चैतदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् । प्रस्तुत छ, खड्कासँग यस्तै विविध विषयमा गरिएको कुराकानीको सम्पादित अंश ः
मुलुकले धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरिसकेको अवस्थामा तपाईं भने नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग राख्दै आउनुभएको छ, तपाईंको माग पूरा हुन्छ जस्तो लाग्छ ?
मैले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग भर्खरै मात्र राखेको होइन । संविधान जारी हुनुभन्दा पहिले नै मैले नेपाललाई कुनै पनि हालतमा धर्मनिरपेक्ष मुलुक बनाउनु हुँदैन भन्दै आएको हुँ । यो मेरो मात्र माग होइन । नेपालमा बसोबास गर्ने झण्डै ९० प्रतिशत जनता नेपाल हिन्दू राष्ट्र हुनुपर्ने पक्षमा छन् । त्यसैले जनताको भावनालाई बेवास्ता गरेर अघि बढ्न मिल्दैन । मैलै आफ्नो मागका बारेमा हाम्रो केन्द्रीय समितिमा पनि कुरा राखेको छु । अब यो विषय संसद्मा भएका साथीहरुको हातमा छ । अहिले संविधान संशोधनको प्रसंग उठिरहेको छ । यसमा पार्टीले हिन्दूराष्ट्रको कुरा उठाउनुपर्ने हो । राप्रपाले पनि यो विषयलाई उठाउनुपर्ने हो । यो विषयमा उहाँहरुले के गर्नुहुन्छ ? त्यो उहाँहरुको विषय हो । म सदनमा नभएकाले जनताको माझमा गइरहेको छु र जाँदै पनि छु । हिन्दू राष्ट्रका लागि म अन्तिम लडाइँ लड्ने तयारी गरिरहेको छु ।
तपाईंले उठाएको मागलाई सम्बोधन गर्न तपाईंकै पार्टी त तयार छैन । अनि कसरी सम्भव हुन्छ त नेपाललाई हिन्दूराष्ट्र बनाउन ?
पार्टीलाई सहमतिमा ल्याउन मैले कोसिस गर्ने हो । मैले त भनिरहेको छु । उहाँ आउनुहुन्छ । मेरो अडान के हो भने पार्टीको महासमिति बैठक बोलाउँ अनि त्यहाँ छलफल गरौं, जे हुन्छ त्यही गरौं । होइन भने जनता जहिले पनि महान् र निर्णायक हुन्छन् । मैले उठाएका मागमा जनताको साथ छ । त्यसैले नेपाललाई हिन्दू राज्य बनाउने कि नबनाउने भन्ने विषयमा उनीहरु नै निर्णायक हुनेछन् ।
तपाईंको पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक बोलाउनुहुन्छ त ?
बोलाउनु होला नि । मैले त प्रस्ताव राखिसकेको छु । केन्द्रीय कार्यसमितिमा यो प्रस्ताव मैले गरेको छु । एक न एक दिन बोलाउनुहोला नि । यदि बोलाउनु भएन भने मैले आफ्नै ढंगले आउँदो चैतदेखि आन्दोलन गर्ने घोषणा गरिसकेको छु । म त्यसैमा केन्द्रित हुन्छु ।
हिन्दू राज्यका पक्षमा तपाईं गर्ने भनेको आन्दोलनमा कस–कसको सहयोग रहन्छ ?
आन्दोलनमा को आउने वा कसले सहयोग गर्ने भन्ने विषय व्यक्तिको चाहनामा भर पर्ने कुरा हो । सबैले सहयोग गर्छन् भन्ने पनि छैन । तर यत्ति भन्न सक्छु नेपाली जनता र कार्यकर्ताहरुको अवश्य सहयोग रहन्छ ।
तपाईंले उठाउँदै आएको मागलाई पार्टीभित्र समर्थन गर्ने केन्द्रीय सदस्यहरु कति प्रतिशत छन् ?
यो विषयमा कतिपय साथीहरु नेताको पछि लागेर बोल्नसक्ने अवस्थामा हुनुहुन्न तर हामी धेरै छौं । कतिपय साथीहरु विस्तारै–विस्तारै यसको पक्षमा खुल्न थाल्नु भएको छ । त्यसैले यो अभियानमा साथीहरुको राम्रै सहयोग रहने विश्वास लिएको छु ।
तपाईंले उठाएका विषयलाई संविधानले नै खारेज गरिसकेको छ । यस्तो असम्भव कुराको पछि किन लागिरहनुभएको छ ?
मैले आफ्नो कुरालाई प्रष्ट रुपमा भनिरहेको छु नि । मागको सम्बोधन नभएमा आन्दोलनमा जाने घोषणा पनि गरिसकको छु । जहाँसम्म संविधानको कुरा छ त्यो जनताले माने मात्र संविधान हुन्छ । नमाने कागजको खोष्टो मात्र हुन्छ ।
दुई तिहाइ जनप्रतिनिधिले सर्वसम्मत रुपमा पारित गरेर निर्माण गरेको संविधानलाई अस्वीकार र अपमान गर्न मिल्छ र ?
नेपाली जनताले मानेको भए किन यस्तो हुन्थ्यो र ? जनताले यो संविधानलाई स्वीकार गरेकै छैनन् । संविधानमा बहुसंख्यक जनताको भावनाको सम्बोधन भएको छैन । त्यसैले संविधान सर्वसम्मत हुन नसकेको हो ।
यदि तपाईंले भनेको कुरा ठीक हो भने सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले किन चुप बसेको त ?
यसबारेमा काँग्रेसले निर्णय गर्नुपर्छ । यदि कांग्रेसले अहिले उपयुक्त निर्णय लिन सकेन भने खाल्डोमा जान्छ । अब भीरबाट हाम फाल्ने गोरुलाई राम राम त भन्ने हो अरु के नै गर्न सकिन्छ र ? त्यसैले अब काँग्रेसका कार्यकर्ताहरुले यसबारेमा सोच्नुपर्ने बेला आएको छ ।
तपाईंको कुरा सुन्दा तपाई पार्टी सभापतिसँग पनि असन्तुष्ट हुनुहुन्न जस्तो लाग्छ नि ?
छैन । मेरो कुनै असन्तुष्टि छैन । तर कामकारबाही एकदमै ढिला भइरहेको छ । अहिले सभापतिको कार्यशैलीले उहाँँ असफलताको बाटोमा जाँदै हुनुहुन्छ ।
अब प्रसंग बदलाँै, तपाईंले पार्टीमा उपसभापतिको दाबी छोडिदिनुभएको हो ?
मेरो सहमति भएको हो । उहाँले मलाई उपसभापति बनाउन सक्दिनँ भन्नुभयो । त्यसैले मेरो सहमति छ । तर उहाँले मलाई तेह्रौं महाधिवेशनमा उपसभापति बनाउँछु भन्नुभएको थियो । यो कुरा त दुनियाँलाई थाहा छ नि ।
तर गोपालमान श्रेष्ठले त तपाईंले उहाँलाई उपसभापति बनाउन सहयोग गर्छु भन्नुभएको थियो रे नि ?
मैले म नबन्ने भएपछि उहाँलाई फोन गरेको हो । यो कुरा सत्य हो । सभापतिले जसलाई चाहनुभएको छ, त्यसलाई बनाउँदा हुन्छ ।
सरकारले हालै संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावका विषयमा तपाईंको धारणा के हो ?
अब यो प्रस्ताव पारित हुँदैन । त्यसैले यो प्रस्ताव फिर्ता लिनुको विकल्प छैन । आन्दोलनलाई चर्काउने काम गर्नुहुँदैन । यसलाई जतिसक्दो छिटो फिर्ता लिनुपर्छ ।
५ नम्बर प्रदेश तलमाथि गर्ने वा मधेश र पहाडलाई अलग गर्ने कुरामा यहाँको सहमति छ कि छैन ?
सबैभन्दा पहिले यो प्रस्ताव मैले नै राखेको हुँ । यदि देशले निकास पाउँछ भने यो कुरा हामीले मान्नुपर्छ भनेको हुँ । सभापतिले सबै पदाधिकारीहरुसँग छलफल गरेर नै यो प्रस्ताव ल्याएको हो । तर जनताहरु सडकमा उत्रिएका छन् । अब यसबारेमा पार्टीले पुनर्विचार गर्नुपर्छ ।
तपाईंलाई संघीय प्रणालीको पनि विपक्षमा उभिएको आरोप लागिरहेको छ । वास्तविकता के हो ?
संघीयता भनेको कुरा नै गलत हो । म यसको पक्षपाती होइन । विदेशीहरुले चलखेल गर्दै छन् । म संघीयताको विरोधी पनि होइन । मान्ने हो भने ५ प्रदेशमा जानुपर्छ ।
तपाईंलाई त गणतन्त्रविरोधी नेता भनेर पनि भनिन्छ नि ?
म गणतन्त्रको विरोधी होइन । भन्नेहरुले त मलाई के–के भने, भने नि । हिजो रअको मान्छे भएँ । अहिले राजा गएको १० वर्ष भयो, म राजावादी भएँ । सत्य कुरा के हो भने यो देशमा राजसंस्था हटाउने बेला सबैभन्दा पहिले गणतन्त्रको पक्षमा कुनै माइकालालले बोल्न नसकेको बेला मैले नै यसको बारेमा बोलेको हुँ । त्यतिबेला मैले गणतन्त्रको प्रस्ताव केन्द्रीय समितिमा राखेको थिएँ । तर जुन दिन राजसंस्था फ्याँकिदै थियो, त्यतिबेला मैले नेपाली काँग्रेस कमजोर भएको छ । त्यसैले राजसंस्थालाई कुनै न कुनै स्पेश दिनुपर्छ भनेको हुँ ।
पूर्वराजालाई पुनः राजा बनाउने अभियानमा पनि तपाईं लाग्नुभएको छ भन्ने आरोप छ नि ?
लगाउनेले जेसुकै आरोप लगाऊन् न । राजा हटेको १० वर्ष भयो । तर पूर्वराजाको भ्रमणमा वा राजा जिल्ला जाँदा मान्छेहरुको ठूलो भीड लागेको छ । किन लाग्ने गरेको छ त यो भीड ? केही आकर्षण छ र त हेर्न जान्छन् । यो राष्ट्र पृथ्वीनारायण शाहले बनाएको राष्ट्र हो । राष्ट्र बचाउन नेपाली काँग्रेसले भूमिका निर्वाह गर्नुपर्छ ।
तर राजसंस्था फर्काउनुपर्छ भन्ने त कोही छैनन् नेपालमा ?
किन छैनन् ? कमल थापाले छोड्दैमा हुन्छ ? हिजो म माओवादीसँग पनि भिडेको हुँ । एमालेसँग पनि भिडेको हुँ । अहिले पार्टीभित्र पनि म लडिरहेको छु ।
भनेपछि तपाईं राजासहितको प्रजातन्त्रको वीपीको मेलमिलापको नीतिमा जान लाग्नुभएको हो ?
म बीच बाटोमा छु । म पार्टीभित्र वीपीको विचार हुबहु लागू गर्नुपर्छ भन्ने पक्षमा छु । वीपीको विचारमा अघि बढ्न सकिएन भने काँग्रेस पार्टी पनि काम लाग्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here