भारतमा ५४ वर्षदेखि फँसेका चिनियाँ पूर्व सैनिक वांग छी शनिबार चीन पुगेका छन् । उनीसँगै उनका छोरा र छोरी पनि चीन गएका छन् । चीन जानुअघि कुराकानी गर्दै उनले लामो समय बसेको तिरोडी गाउँका जनतालाई आफू आफ्नो जन्म भूमी पुगेर पुनः फर्किएर आउने बताए । उनले चीन पुग्दा आफूलाई सन्तोष र खुसी मिल्ने पनि उल्लेख गरे ।
उनले आफूले इन्दिरा गान्धीको समयदेखि आफूलाई चीन जान दिन या भारतको नागरिकता दिन आग्रह गर्दै आए पनि उनको कुराको अहिलेसम्म सुनुवाई भएको थिएन । उनी भन्छन्, ‘मैले हजारौं निवेदन हाले तर कुनैको जवाफ आएन । मैले उच्च अदालतमा मुद्दा हाले, चिनियाँ राजदूतसँग सम्पर्क पनि गरे तर कुनै सहयोग पाइन ।’
केही समयअघि बीबीसीले ‘५४ वर्षदेखि भारतमा फँसेका चिनियाँ सैनिक’ शीर्षकमा उनको कथा छापिएपछि संसारको ध्यान आकर्षित भएको थियो । उनले आफ्ना छोरा र छोरीलाई चीन लगे पनि श्रीमती भने भारतमा नै छाडेका छन् । उनको स्वास्थ्य अवस्था ठीक नभएको र विमानमा चढेर जानसक्ने अवस्था नरहेका कारण लिएर जान नसकेको बताएका छन् ।
उनले लामो समयदेखि बस्दा भारतमा पनि माया भएको उल्लेख गर्दै उनले भने, ‘मेरो जाने इच्छा थिएन, सबै भाइबहिनी जस्तै भइसकेका छन् । तर मेरा त्यहाँ पनि भाइबहिनी छन् । बाबु आमा त बितिसक्नु भयो, अब भाइबहिनीसँग एकपटक भेट्न चाहन्छु ।’
सन् १९६२ को लडाइँका क्रममा वांग छी भारतमा पक्राउ परेका थिए र उनलाई चीन जान दिइएको थिएन । भारतीय विमानस्थलमा हिन्दी भाषामा कुराकानी गरेका उनले चिनियाँ विमानस्थलमा पुगेर चिनियाँ भाषामा कुराकानी गरेका थिए ।
भारतीय जेलमा परेपछि यस्तो रह्यो चिनियाँ सैनिकको जीवन
भारतमा फँसेका चिनियाँ सैनिक वांग छी ५४ वर्षपछि चीन पुगेका छन् । उनको जीवनसँग जोडिएका केही महत्वपूर्ण तथ्य यसप्रकार छन् ।
१. वांग छीका अनुसार १९६३ मा उनी भुलवश भारतमा छिर्न पुगेका थिए र पक्राउ परेका थिए । उता, भारतीय अधिकारीहरुका अनुसार भारतमा बिना कागजात घुसेको बताउँदै आएको छ । वांग छीलाई भारतले लगाउँदै आएको जासुसीको आरोप अस्वीकार गर्दै आएका छन् ।
२. वांग छी विभिन्न जेलमा ६ देखि ७ वर्ष राखेर मध्य प्रदेशको तिरोडी गाउँमा छोडिएको थियो ।
३. सन् १९७५ मा उनले दबाबले सुशीला नामकी भारतीय युवतीसँग विवाह गरेका थिए ।
४. परिवारसँगको दूरीका कारण उनी घन्टौंसम्म परिवारको यादमा रुने गर्दथे ।
५. ८० को दशकमा पहिलोपटक पत्रको माध्यमबाट चीनमा परिवारसँग उनको सम्पर्क भएको थियो ।
६. ४० वर्षमा पहिलो पटक २००२ मा फोनमा उनकी आमासँग कुराकानी भएको थियो । २००६ मा उनकी आमाको मृत्यु भयो ।
७. उनका एक छोरा र दुई छोरी छन् ।
८. वांगका अनुसार उनले सहयोगका लागि पत्र लेखे पनि कसैले सहयोग गरेनन्, तर गत साता बीबीसीमा उनको कथा आएपछि चिनियाँ दूतावासका अधिकारी उनलाई भेट्न गाउँ गई भेट गरेर सहयोगको वचन दिएका थिए ।


















