हिसिलाको देश खारेजको नारासित बाबुरामको नेपाललाई मर्जर गर्नेबीचको एकता

159

हुकुम बहादुर सिंह
केही दिनदेखि नेपाली सञ्चार र सामाजिक सञ्जालमा हिसिलाको नारा ‘यो देश खारेज गर’ले स्थान पाएको छ । नेपालका ससाना ६४ दलहरूले निर्वाचन आयोग घेराउका दौरानमा उनले एक्लै यो नारा चिच्याएर लगाएकी थिइन् । उनले त्यसबेला होसमै यो नारा लगाएकी थिइन् तर पछि जब सबै क्षेत्रबाट उनको चर्को आलोचना भयो अनि उनले त्यसको एकदिन पछि ‘अर्धमूच्र्छितजस्तै हुन पुगेको बेला’ यस्तो नारा लगाएको भनेर माफी मागेकी छन् । उनले यसका लागि पत्रकार सम्मेलन नै गरेर विज्ञप्तिमार्फत यस्तो भनेकी छन् –‘…….म अर्धमूच्र्छित जस्तै हुन पुगेछु ।……..आवेग र अर्धचेतकै अवस्थामा यस्तो नारा मेरा मुखबाट लाग्न पुगे छ ।’ उनको भनाइ छ– निर्वाचन ऐनको यो आदेश खारेज हुनु पर्दछ भन्दा बेहोसी पूर्वक यो देश खारेज गर भएछ । आइतबार उनले लगाएको यो नाराको व्यापक विरोधपछि मात्रै उनले सोमबार पत्रकार सम्मेलन गरी विज्ञप्तिमार्फत त्यसका लागि आत्मालोचना गरेकी छन् ।
सबैलाई थाहा छ, हिसिला यमी विगतमा पनि यस्ता अराजक र नेपालको राष्ट्रियताभन्दा जातीय पहिचानलाई माथि राख्ने एक जना माओवादी नेत्री हुन् । उनका अभिव्यक्तिहरू विगतमा पनि अराजक र बढ्ता व्यक्तिवादी हुने गर्दथे । उनमा माक्र्सवाद–लेनिनवाद–माओवादको अलिकति पनि सैद्धानितक तथा वैचारिक पक्ष पाइँदैनथ्यो । त्यसैको परिणाम स्वयम् बाबुरामलगायत कैयौं ‘माओवादी नेताहरू’ले अहिले आएर माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा क्रान्ति नभई साम्राज्यवादको आलोकमा नेपालमा विकासवादी नारा दिन थालेका छन् । हिसिला र बाबुरामलगायत अन्य नेताहरू अहिले कम्युनिष्टविरोधी खेमाको नेतृत्व गर्ने राजनीतिक दल– नयाँशक्तिका नेता भएका छन् । हिसिलाका श्रीमान् स्वयम् बाबुरामले नेपालको प्रधानमन्त्री हुँदा नेपालको राष्ट्रियतामा उनकै शब्दमा जुवा खेलेका थिए–भारतसित बिप्पा गरेर । त्यसैबेला उनले भनेका थिए, ‘नेपाल भारतसित वा चीनसित मर्जर हुनेछ ।’
यसरी त्यसबेला बाबुरामको ‘मर्जर’ र अहिले हिसिलाले लिएको नारा–‘यो देश खारेज हुनु पर्दछ ।’ बीचमा कतै भित्री साइनो त छैन ? शंका गर्ने प्रशस्त ठाउ‘ छ । बाबुरामको उक्त भनाइ र अहिले हिसिलाको यो नारा ती दुवैको दिमागमा बलियो गरी जरा गाडेको लेन्डुपे प्रवृत्ति र चिन्तनको अभिव्यक्ति त होइन भन्ने प्रश्न पनि उठेका छन् । खासगरी राजनीतिको पछिल्लो कडिका रूपमा बाबुरामले नेपालका मधेसी मोर्चाका नेताहरूका अभिव्यक्तिहरूसित साइनो गाँस्न जानु र हिसिलाको महन्त ठाकुर र राजेन्द्र महतोका भनाइसित मिल्ने खालका भनाइ उनको मुखबाट आउनु यी कतै आपसमा तालमेलका साथ बाहिर आएका त होइनन् ? राष्ट्रवादी नेपालीका मनमा चिसो पस्नु स्वाभाविक हो । यद्यपि हिसिलाले उनको यो अक्षम्य गल्तीका लागि आम जनतासित माफी त मागेकी छन् । तैपनि विगतको बाबुरामको बिप्पा र मर्जरसित कतै हिसिलाको अभिव्यक्तिबीचको एकता त होइन ? भविष्यले यसको जवाफ अझ स्पष्टसित दिने नै छ । यसो गरेर हिसिला र बाबुरामको राजनीतिक भविष्य झन्पछि झन् दिल्लीमुखी भएको आरोप उनीहरूमाथि लाग्ने झन् प्रबल सम्भावना बढ्दै गएको छ । अहिले उनले आफूलाई जनजातिको छोरी, नेपाली भाषामा दखल नभएकी भनेर जे भनिरहेकी छन्, ती आफैमा वाहियात तर्कहरू हुन् र ती तर्कहरूले उनको दिमागमा रहेको अराजकतावादी चिन्तनलाई झन् बल पु¥याउने काम गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here