काठमाडौं । चलचित्र ‘पर्व’मा समावेश ‘काले दाइ काले दाइ’ बोलको गीतबाट मोडल तथा नायिका माला लिम्बूलाई दर्शकले चिन्ने मौका पाए । हुन त, उनको चर्चाभन्दा बढी गीतको चर्चा भइरहेको छ । ‘वन वे’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी माला यो क्षेत्रमा जम्ने कोसिसमा त छिन्, तर सफलता त्यति पाएकी छैनन् । उनलाई दर्शकले म्यूजिक भिडियो र चलचित्रको आइटम गीतमा हट अवतारमा देख्ने गरेका छन् ।
उनै माला हिजोआज मिडियासँग भाग्न खोज्छिन् । सायद, उनलाई मिडियासँग दोहोरो कुराकानी गर्न अप्ठ्यारो लागेको हुनसक्छ । केही समय अगाडि एक साप्ताहिकमा ‘केटाहरू मलाई गधा जस्तो लाग्छ’ भनेर इन्टरभ्यू दिएपछि उनको आलोचना बढी भयो । केही दिन अगाडि मात्र चलचित्र ‘रातो घर’को पत्रकार सम्मेलनमा मालाले ‘झापा’ जिल्लालाई ‘देश’ भनिदिइन् ।
उनी, आफू नेपाली राम्रोसँग बोल्न नजान्ने भनेकी छिन् । यसैले पनि होला उनलाई मिडियासँग कुराकानी गर्न भनेपछि ज्वरो नै आउँछ । तर, कलाकार भइसकेपछि मिडियाबाट टाढा भागेर कहिलेसम्म साध्य लाग्छ र ? मिडियासँग टाढा हुन खोज्नुभन्दा बरु बोल्ने तरिका पो सिक्ने हो कि ?

















