प्रधानमन्त्री देउवालाई शुभकामना

363

मुलुकको नयाँ प्रधानमन्त्रीमा मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी मुलुकको ४०औं र व्यक्तिगत रूपमा चौंथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । व्यवस्थापिका संसद्को बैठकमा ३ सय ८८ मत प्राप्त गर्दै देउवा प्रधानमन्त्री बन्न सफल भएका हुन् । नेकपा माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बन्न सफल भएका देउवाका अगाडि चुनौती र अवसर दुवै छ । यसअघि तीनपटक प्रधानमन्त्रीको अनुभव सँगालिसकेका देउवाको अगाडि वर्तमान अवस्था निकै चुनौतीपूर्ण छ । पटकपटक प्रधानमन्त्री बनिसके पनि उनको विगत त्यति सुखद छैन । उनी सधैं आलोचनाको घेरामा रहिरहे । देउवा ३ वटै कार्यकाल बढी आलोचित छन् । विगतको त्यही पृष्ठभूमिले उनीमाथि बेलाबखत पार्टीभित्रै र बाहिरबाट आशंकाहरू उठिरहन्छन् । तिनै आशंका र प्रश्नलाई मेटेर राजनीतिक उचाइ लिने अवसर र चुनौती उनलाई फेरि मिलेको छ ।
यसअघिका राजनीतिक कार्यकालमा देशको स्वाभिमानविरुद्ध विभिन्न गल्ती गरेका कारण देउवा बद्नाम बनेका थिए । पँजेरो काण्ड यिनैको कार्यकालमा भित्रिएको थियो । नेपालको राजनीतिक वृत्तमा सधैं चर्चा भइरहने महाकाली बेच्ने काम पनि यिनको पालामा नै भयो । देउवा प्रधानमन्त्री हुँदा नै नेपालमा माओवादी जनयुद्ध सुरु भयो भने राजालाई सत्ता बुझाउने काम पनि यिनैले गरे । तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम भनी प्रधानमन्त्रीबाट देउवालाई हटाएका थिए । यिनै पचासको दशकमा गृहमन्त्री हुँदा प्रहरीमा भाँडभैलो सृजना गर्ने, राजनीति घुसाउने जस्ता गतिविधिका कारण विवादित रहे । त्यसकारण विगतको अवस्थालाई हेर्ने हो भने देउवाबाट ठूलो अपेक्षा गरिहाल्ने अवस्था छैन । पछिल्लो समय पनि नेपाल प्रहरीमा गरिएको राजनीतीकरण, राजदूत प्रकरण, प्रधानन्यायाधीशलाई महाअभियोग सिफारिसलगायत विषयका कारण पनि देउवाको छवि धुमिल भएको छ । यस्तो बेलामा देउवा प्रधानमन्त्री बनेका छन् । तर, उनलाई आफ्नो छवि सुधार्ने पुनः अवसर पनि छ । किनभने यो बेला स्थानीय तहको पहिलो चरणको चुनाव सकिएको छ र दोस्रो चरणको चुनाव असार १४ गते हुने टुंगो लागिसकेको छ । उनलाई मधेशी दलहरूलाई मिलाएर अघि बढाउनुपर्ने चुनौती छ । साथै, आगामी माघसम्म तीनै तहको चुनाव पूरा गर्नुपर्ने पनि जिम्मेवारी छ ।
देउवाको विगतलाई हेर्ने हो भने छिट्टै विश्वास गरिहाल्न सकिँदैन । तर, माओवादी केन्द्रसँगको सत्ता साझेदारी भएकाले केही आशा गर्न सकिन्छ । किनभने माओवादीसँगकै सत्ता साझेदारीका कारण नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जुन किसिमको जस पाए, त्यही किसिमले देउवाले पनि माओवादीसँगको साझेदारीबाट जस लिने काम गर्न सक्नुपर्छ । मार्गदर्शनकै रूपमा हालै मात्र धुर्मुस सुन्तलीले सार्वजनिक गरेको अवधारणा ‘नमूना नेपाल’ उनले आफ्नो मुख्य कार्यभारको रूपमा लिन सक्छन् । उनले सम्पूर्ण नेपाली र नेपालको भूगोललाई नमूना बनाउने जिम्मेवारी बहन गर्न समयले फेरि अवसर दिएको छ । यसलाई पूरा गर्न सके उनी नेपालको इतिहासमा अविस्मरणीय पात्रका रूपमा अवश्य नै रहिरहनेछन् । जनताबाट सम्मानित राजनेताको छवि पनि बनाउन सक्नेछन् । यो गन्तव्यमा सफलता मिलोस्, प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना छ ! -जनधारणा सापताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here