काठमाडौं/ कर फछ्र्याैट आयोगमा काम गर्दा गरिएका निर्णयहरुलाई छानविनको आधार बनाएर आन्तरिक राजस्व विभागका बहालवाला महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि शर्मासँग बसेर काम गरेका नेपाल सरकारद्वारा मनोनित आयोगका अध्यक्ष र अन्य एक सदस्य पनि भूमिगत भएका छन् । आयोगका अध्यक्ष लुमध्वज महत नेपाली कांग्रेस पार्टीसँग निकट अर्थविद् मानिन्छन् भने सदस्य उमेश ढकाल एमाले पार्टीपंक्तिमा इमान्दार चार्टर्ड एकाउन्टेटका रुपमा चिनिन्छन् ।
आन्तरिक राजस्व विभागको महानिर्देशकका हैसियतबाट एकपटक कर फछ्र्याैट आयोगमा रहेर कर फछ्र्याैटसम्बन्धी काम गरिसकेका हाल अख्तियारको प्रमुख आयुक्त रहेका दिप बस्न्यातले गरेका कर फछ्र्याैटसम्बन्धी निर्णयहरु पनि छानविनको दायरामा ल्याउनुपर्नेबारे नेपाली कांग्रेस, नेकपा एमाले भित्र दवाव परेको थाहा भएको छ ।
कर फछ्र्याैट ऐन २०३३ ले प्रत्यायोजन गरेको असीमित अधिकारको प्रयोग गरी कर फछ्र्याैट गरिएका कारणबाट भन्दै चुडामणि शर्मा छानविन प्रक्रियामा तानिएजस्तै दिप बस्न्यातलगायत कर फछ्र्याैटसम्बन्धी ऐन २०३३ बनेदेखि हालसम्म आयोगमा रहेर जिम्मेवार निर्वाह गरेका सबैले गरेका निर्णयहरुको फाइल पनि छानविनमा तानिन सक्ने सम्भावना बढेर गएको छ । यो अवस्थाले भ्रष्टाचारको लहरो तान्दा पहरो थर्किने स्थिति देखा परेको छ । -जनधारणा साप्ताहिकबाट


















