काठमाडौं/ काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी भएका नेकपा एमालेका विद्यासुन्दर शाक्यले आफूले निर्वाचनपूर्व वाचा गरेका योजनाहरू पूरा गर्ने जनाएका छन् । आफ्नो जीतपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा शाक्यले अब बोल्ने दिन सकिएको र काम गरेर देखाउने बेला आएको विचार व्यक्त गरे ।
शाक्य ६४ हजार ९ सय १३ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरेका थिए । यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत प्राप्त गरे । काठमाडौं महानगरमा कुल २ लाख ७९ हजार ३ सय ६ मतदाता रहेकोमा एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो भने ६ हजार १ सय ८३ मत बदर भएको थियो ।
उत्कृष्ट सहर बनाउने जिम्मेवारी
काठमाडौं महानगरपालिका एउटा सहर मात्र नभई देशकै राजधानी पनि हो । त्यसकारण यो सहरको विकासलाई देशविदेशबाट आँकलन गरिनेछ । त्यसैले राजनीतिमा तीन दशकदेखि क्रियाशील रहेर पनि आमप्रचारमा कमै सुनिने विद्यासुन्दर शाक्यलाई अब अवसर र चुनौती दुवै प्राप्त भएको छ ।
शाक्यको काँधमा मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा आगामी पाँच वर्ष नेतृत्व गर्ने जिम्मेवारी आएको छ । समृद्ध, सुन्दर र चौबीसै घन्टा जीवन्त सहर बनाउने अठोटका साथ निर्वाचनमा होमिनुभएका शाक्यले अब कसरी महानगर चलाउलान् भन्ने सबैको कौतुहलता रहेको छ ।
काठमाडौंको भित्री सहरका स्थापित राजनीतिक कार्यकर्ता शाक्यको काँधमा नयाँ संविधानपछिको अधिकारसम्पन्न स्थानीय निकायमध्ये मुलुकको केन्द्रभागको शक्तिशाली महानगरको बागडोर सम्हाल्ने चुनौतीपूर्ण जिम्मेवारी आएको छ । राजनीतिक रूपमा सिंहदरबारपछिको केन्द्र भनेकै महानगर हुन्, त्यस्तो निकायमा अत्यधिक मतले जितेपछि नागरिक र मतदाताका सेवासुविधाका अपेक्षा र उनले निर्वाचनका बेला गरेका वाचा पूरा गर्ने चुनौतीलाई ऐतिहासिक अवसरका रूपमा लिएका छन् ।
काठमाडौंकै लगनटोलमा विसं २०२० जेठ ९ गते जन्मिएर त्यही माटोमा हुर्किनुभएका शाक्यले अब आफ्नो टोलबाट करिब एक–डेढ किलोमिटरको मात्र दूरीमा रहेको बागदरबारको प्रमुखको कुर्सीमा पाँच वर्ष रहेर केके गर्ने भन्ने योजना पनि बुन्न थालेका छन् ।
प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा उत्तिकै सक्रिय शाक्य एमालेको भ्रातृ संगठन तत्कालीन राष्ट्रिय युवा संगठनको काठमाडौंको संस्थापक कोषाध्यक्ष हुँदा करिब दुई दशकदेखि एमालेको जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी हाल सो कमिटीको जिल्ला सचिव छन् । विसं २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं वडा नं २१ को अध्यक्षका उम्मेदवार बने । सूर्य चिह्न फहराउँदै उनको विजय र जनताको प्रत्यक्ष सेवाको जिम्मेवारी यात्रा सुरु भयो ।
आफूले बढी मत पाउने अपेक्षा गरे पनि आशा गरेअनुरूप मत अझै प्राप्त नगरेको बताउने शाक्यले अब आफू एमालेको उम्मेदवार नभई जनताको साझा प्रतिनिधि भएकाले जनताको मतको सम्मान हुने काममा खट्ने दृढता व्यक्त गर्छन् ।
उनले कार्यकाल सुरु गरेको पहिलो एक सय दिनभित्र गर्ने एक सय एक कामका योजना र प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसक्नुभएको थियो । त्यसमध्ये ८४ वर्ष नाघेका वृद्धवृद्धालाई वार्षिक रूपमा रु. १२ हजार महानगर वृद्धभत्ता र सामाजिक सुरक्षा भत्तालाई क्रमिक रूपमा बढाएर मासिक रु. पाँच हजारसम्म पु¥याउनेलगायत छन् ।
नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रूपमा प्रचलनमा ल्याइने, नेपालको मौलिक संवत्का रूपमा रहेको नेपाल संवत्लाई पनि प्रचलनमा ल्याइने, संस्कृति र सम्पदासम्बन्धी प्रतिबद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरिको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने आदि उनका प्राथमिकताका क्षेत्र हुनेछन् ।
उनले निर्वाचनमा भाग लिएका नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), विवेकशील पार्टी, साझा पार्टीलगायतसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए । शाक्यको विजय जुलुस यही जेठ १६ गते हुने र सोही दिन शपथ ग्रहण गर्ने तयारी छ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here