काठमाडौं/ उत्तरी सीमा क्षेत्रमा वि.सं. १८४९ मा तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम संवत् १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना)ले युद्ध लडेर साहसिक सफलता पाएको सूर्यगढीको संरक्षण र प्रवद्र्धनका लागि गत बिहीबार १० फिट लामो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ ।
झण्डोत्तोलन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले नेपालीको योगदान र प्राप्त सफलतालाई जीवन्त राख्न सूर्यगढीलगायतका युद्धस्थलको संरक्षण आवश्यक रहेकोमा जोड दिइयो ।
विक्रम संवत् १८४५ देखि १८४९ सम्म तिब्बती सेनासँग गोर्खाली योद्धाले वीरतापूर्वक लडी नेपालीको जित भएकाले नेपालीको सीमा रसुवागढीसम्म कायम गराउन सफल भएको सन्देशलाई जीवन्त राख्न पहिलो चरणमा झण्डोत्तोलन गरिएका जनाइएको थियो ।
नुवाकोट र रसुवाको आधा भूमिको सहजरूपमा अवलोकन गर्नसकिने पहाडी चट्टानको बीचमा पर्ने सूर्यगढीमा तत्कालीन समयमा बहादुर शाह र दामो पाण्डेको नेतृत्वमा भएको युद्धले तिब्बती सेनालाई पराजित गर्न सफल भएसँगै वेत्रावती सन्धि भएको थियो । वेत्रावती सन्धिले नेपाली पक्षको जित भएकोले नेपालले दाबी गरेअनुसार रसुवागढीसम्मको भूमि उपभोग गर्न पाएको हो ।

















