हृदयेश त्रिपाठी, नेता- राजपा नेपाल

तपाईंले चिनेको शेरबहादुर देउवा कस्तो व्यक्ति हुनुहुन्छ ?
मैले उहाँलाई चिने बaमोजिम उहाँ अत्यन्तै कम बोल्ने तर काम गर्ने नेता हो ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाले अहिलेको चुनौती सामना गर्न सक्नुहुन्छ त ?
उहाँलाई हिजो झण्डै दुई तिहाइ नै मत प्राप्त भएको थियो । हामीले पनि उहाँको पक्षमा मतदान गर्नुको प्रमुख कारण के हो भने उहाँलाई दुई तिहाइ पु¥याउन सकियोस् । संविधान संशोधन दुई तिहाइले पारित होस् भन्ने चाहना हो । त्यस हिसाबले संविधान संशोधन गरेर नै संविधानको स्वीकार्यता बढोस् भनेर नै हामीले मतदान गरेका हौं ।

तर तपाईंहरूले त शर्तहरू अघि सार्नुभएको छ नि ?
संविधान संशोधन त अहिलेको शर्त होइन नि । संविधान बन्दा नै हाम्रो विमति थियो । शर्त भनेको नै हाम्रो यसमै हो नि । जसरी संविधान १६ बुँदे सहमति गरेर पावर शेयररिङ गरेर जारी गरियो । एक ढंगले भन्दा संविधान जारी गर्दा नै मधेश जलिरहेको थियो । त्यसबेला एक भूभागमा दीपावली हुँदै थियो भने अर्को भूभागमा कालो दिवस मनाउँदै थियो । त्यसलाई समाधान गर्नका लागि संविधान संशोधनको विषय साँच्चिकै भन्ने हो हामी निकै उदार भएका छौं । अहिले संशोधनको जुन प्रस्ताव ल्याइएको छ, यो अत्यन्तै नरम र उदार खालको छ । यसलाई पनि पारित गर्न सकिएन भने काठमाडौं र मधेशको दूरी झन्झन् बढ्दै जाला भन्ने अनुमान गरे हुन्छ ।

तर, एमालेले त अहिले संशोधनको कुरा नै सुन्न चाहेको छैन नि ?
एमालेको कुरा के हो भने, हिजोमात्रै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा भन्नुभयो कि संविधान जारी गर्दाखेरि नै कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको सुनाउनुभयो । उहाँहरूले संविधान जारी गरेकै दिन संविधान संशोधन गरेर यसलाई पूर्णता दिन्छौं भन्नुभएको थियो । त्यो भनेको एमालेको पनि कमिटमेन्ट हो नि ।

संविधान संशोधन गर्न त दुई तिहाइ मत चाहिन्छ नि ?
एमालेसँग त हाम्रो कुनै निषेधको राजनीति होइन । मुलुकलाई द्वन्द्वतिर लैजान त एमालेले पनि चाहेको छैन नि ।
संसद्मा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच घोचपेच त भयो नि ?
राजनीतिमा त तर्क राख्न पाइन्छ । आफ्नो विचार राख्दा शालीन भएर राख्ने हो । यसलाई कुनै अनौठो मान्नुहुँदैन । यो संसदीय रोचकता नै हो । यसलाई अन्यथा लिनुहुँदैन । जुहारी भनेको वादविवाद हो ।
मधेशको आँखामा केपी ओली कस्तो प्रधानमन्त्री हो ?
ओलीजी वास्तवमै पूर्वाग्रह पालेर आउनुभयो र त्यसले गर्दा धेरै मधेश र परिवर्तनको विरुद्धमा अभिव्यक्ति रह्यो । संवाद पनि भएकै हो । राजनीतिक रूपमा संवाद भएकै हो नि । तर निष्कर्षमा पुग्न सकिएन ।

उसो भए ओलीजी मधेशविरोधी नेता हो त ?
उहाँको मनमा के थियो भने इण्डियासँग डिल गरौं तर मधेशलाई दबाएर लैजाऊँ भन्ने थियो । कमल थापाले त चार बुँदे त भारत पु¥याएको भन्नुभएको थियो । सबैलाई यो कुरा थाहा छ नि ।
उसो भए केपी ओली भारतसँग सीधै सम्झौता गर्न चाहनुहुन्थ्यो ?
उहाँलाई के थियो भने भारतसँग डिल गर्न पाएहुन्थ्यो भन्ने थियो । भारतले आफ्नो पक्षमा हस्तक्षेप ग¥यो भने सहयोग मानिन्छ ।

उसो भए प्रचड प्रधानमन्त्री भएपछि मधेशको मुद्दा सम्बोधन गर्न सक्नुभएको हो त ?
उहाँले कोशिसचाहिँ गर्नुभएकै हो । उहाँले संविधान संशोधन प्रस्ताव ल्याउनुभयो । त्यतिबेला उहाँले प्रस्ताव ल्याउनुभयो । तर कांग्रेसका कारण फिर्ता लिनुभयो । तुलनात्मक रूपमा उहाँले हाम्रो मुद्दा सम्बोधन गर्न पहल गर्नुभएको हो ।

अब प्रधानमन्त्री देउवाले त संशोधन पारित गराउन सक्नुहोला त ?
उहाँसँग चुनौतीहरू छन् । यदि उहाँ पनि अघिल्ला प्रधानमन्त्रीहरूजस्तै चुनावको रटानमा लाग्नुभयो भने समस्या समाधान हुँदैन । तर संशोधन प्रस्ताव पारित गराएर जानुहोला । स्वर्गीय सुशील कोइरालाले राष्ट्रपतिको लागि हतारमा संविधान जारी गर्नुभयो । त्यस्तै उहाँ पनि चुनावको लागि हतार गर्नुभयो भने उहाँ पनि असफल बन्नुहुनेछ ।

तर ०७४ माघ ७ गतेभित्रै तीनतहकै निर्वाचन सम्पन्न गर्नुपर्छ नि ?
मलाई त के थाहा छ भने उहाँहरूले एक वर्ष अझै म्याद थप्नुहुन्छ । कांग्रेस, एमाले र माओवादीले तीन तहकै निर्वाचनको तिथि थप्ने तयारीमा हुनुहुन्छ । मैले यही सुनेको छु । उहाँले एक वर्ष म्याद थप्नुहुन्छ । हेर्दै जानुस् संविधान संशोधन गर्ने बेलासम्म एमाले लत्रिएर आउँछ ।

म्याद थप्दा संवैधानिक अड्चन आउँदैन त ?
केको समस्या आउनु नि ? संविधान संशोधन गर्नुहुन्छ ।
–प्रस्तुति ऋषि धमला (जनधाराणा साप्ताहिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here