सुशीला कार्कीले मनन गर्नुपर्ने कुरा

174

-राज्यलक्ष्मी शाक्य

यी पंक्तिहरु लेख्न बसिरहँदा तराईको महोत्तरी जिल्ला औरी गाउँपालिका वडा नं. २ फुलबरिया निवासी २१ वर्षीया ब्युटिसियन व्यवसायी आशा श्रेष्ठ सामूहिक रुपमा बलात्कृत भएको घटना सार्वजनिक भएको सुन्न पाइयो । यतिबेला नै नेपालको तराई क्षेत्र आन्दोलित छ । आन्दोलन गर्नेहरुलाई सरोकार नभएको यो घटनाले मुलुकभरिका महिलालाई आक्रोशित तुल्याएको छ । यस्तो घटना भइरहँदा सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशको हैसियत जमाएर पदमुक्त भएकी सुशीला कार्कीले कुनै प्रतिक्रिया कतै दिएको पाइएन । संसारमा पद र पैसाका कारण मान्छेमा दम्भ बढ्छ भन्ने यो नै उदाहरण हो ।
पद र पैसाकै कारण मानिस आफूलाई अजम्बरी, बलशाली र कसैलाई नटेर्ने बन्छ । उसले आफ्नो धरातल बिर्सन थाल्छ । क्षणिक रुपमा हुने पद र पैसालाई ऊ दीर्घकालीन सोच्छ । जसका कारण कैयौं गल्तीहरु गर्छ र जब त्यो शक्ति उसबाट खोसिन्छ, आफ्नो लघुताभाष आफैं महसुस गर्दछ । क्षणिक शक्तिका भरमा आफूलाई अजेय ठान्नु सपनामा महल ठड्याएझैं हो, जुन विपनामा पुग्नेबित्तिकै यथार्थ नभएको प्रष्ट हुन्छ । त्यसकारण यो ज्ञानलाई महसुस गरेर निःस्वार्थ भई कर्म गर्नु मानवीय धर्म हो । तर, दुर्भाग्यवश भन्नुपर्छ, नेपालका अधिकांश नेतृत्वहरु यो कर्मबाट विमुख छन् । सरकारी निकायका उच्च ओहोदाका व्यक्तिहरु पनि क्षणिक शक्तिको उन्मादमा यसरी मात्तिन्छन्, आफ्नो वरपरको केही देख्दैनन् । बढ्दो अहंकारमा यस्ता निर्णयहरु गर्छन्, जसले न्याय, अन्याय केही हेर्दैन, ठीक÷बेठीक केही भन्दैन ।
मैले उठाएको यो सन्दर्भ नेपालका विभिन्न व्यक्तित्वहरुमा चरितार्थ हुन्छ । कसैमा अलि कम होला, कसैमा अलि बढी । मान्छे गुणैगुणले सम्पन्न पनि छैन । दोषैदोष मात्र पनि हुँदैन । मैले आज यहाँ उठाउन खोजेको प्रसंग हो, पूर्वप्रधानान्याधीश सुशीला कार्कीको । कार्की नेपालको इतिहासमा नै पहिलो महिला प्रधानन्यायाधीश हुन् । उनीमाथि नै महाअभियोग आइलाग्यो । उनको पालमा विभिन्न मुद्दाहरुमा भटाभट फैसला पनि भए । न्यायालय सबैभन्दा चर्चाको विषय पनि उनकै पालामा भयो । उनी निर्भीक थिइन्, साहसी थिइन्, यसमा कुनै विवाद छैन । विवाद त उनले गरेका निर्णयहरुमा भयो । जसले नेपाली जनतालाई विभाजित बनायो, पक्ष र विपक्षका रुपमा ।
पंक्तिकारले एउटा अवकाशप्राप्त कर्मचारीको बारेमा किन प्रसंग उठाउन खोजिरहेको छ भन्ने तपाईंहरुलाई लाग्ला । तर, जसरी अवकाशप्राप्त भईकन पनि कार्की विभिन्न निकायहरुप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेकी छिन्, यसले मलाई पनि केही लेख्न बाध्य बनायो । कार्कीले आफूले गरेका निर्णयहरु कति गलत रहेछन् भन्ने कुरा उनका निर्णयहरु अहिले अदालतले भटाभट उल्टाउनुले पुष्टि भएको छ । प्रधानन्यायाधीशको लाइनमा रहेका गोपाल पराजुली उमेर विवाद निकालेर उनले जुन पूर्वाग्रही निर्णय गरिन्, त्यसले पनि उनी आलोचनाको पात्र बनिन् । त्यस्तै, पूर्वडीआईजी पार्वती थापाको मुद्दा पनि उनले आफू प्रधानन्यायाधीश भएपछि हेर्न सक्थिन् । ढिलै भए पनि एउटा महिलालाई न्याय दिएको आभास गराउन सक्थिन् । त्यो पनि उनले गर्न सकिन् । अहिले सर्वोच्चले थापाको मुद्दालाई प्रयोजनहीन भन्दै खारेज गरिदिएको छ । अन्ततः उनले न्याय पाउन सकिन् । यस्ता धेरै विषय छन् जसमा कार्की चुकेकी छिन् ।
तर, अवकाशप्राप्त भइसकेपछि उनी अहिले विभिन्न नेता तथा निकायका प्रमुखहरुलाई गाली गर्दै हिँड्न थालेकी छिन् । विभिन्न कार्यक्रममा अभद्र शब्द प्रयोग गर्दै आफूलाई काम गर्न नदिएको उल्लेख गर्न थालेकी छिन् । के एउटा प्रधानन्यायाधीश भइसकेको व्यक्तिले गर्न सुहाउने व्यवहार हो यो ? के उनले त्यस्तो अभद्र भाषा प्रयोग गर्न मिल्छ ? कार्कीले यस विषयमा पनि विचार पु¥याउनु पर्छ । उनले आफ्नो कार्यकालमा पूर्वाग्रही ढंगबाट निर्णय गर्न, एक पक्षलाई काखी च्याप्ने, आफ्नो विपक्षीको खेदो खन्ने र अहिले आएर मलाई यी यी व्यक्तिले काम गर्न दिएनन् भनेर आरोप लगाउनु उपयुक्त हुँदैन । पद रहेपछि व्यक्तिगत स्वार्थ वा पूर्वाग्रहलाई पर सारेर काम गर्न सक्नुपर्छ । अझ न्यायालय जस्तो क्षेत्रमा त अझै नैतिक इमानदारीको ठूलो भूमिका हुन्छ । नैतिकताको कसीमा आफूलाई सही रुपमा उभ्याउन सक्नुपर्छ । तर, त्यो भूमिका निभाउन नसक्ने र अरुमाथि दोष थोपर्नु भनेको नाँच्न नजान्ने आँगन टेढो भनेझैँ हो । आफ्नो कमजोरीलाई पनि मनन गर्न सक्नुपर्छ । बलात्कृत नारी आशासँग सुशीला कार्की र मधेस केन्द्रित नेताहरुको नाता सम्बन्ध नभएकैले हुनसक्छ आशाको पक्षमा तराई क्षेत्र शान्त छ ।

[email protected]

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here