मौद्रिक नीतिमा महिलामैत्रीको सवाल

202

-राज्यलक्ष्मी शाक्य 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति भनेको विशेषगरी देशको मुद्रासँग सम्बन्धित नीति भए पनि नेपालमा भने मुद्राको विषयमा राष्ट्र बैंकले नीति बनाउने गरेको देखिँदैन । राष्ट्र बैंकले देशका बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने किसिमले मात्र मौद्रिक नीति सार्वजनिक गरेको छ । जसको कारण यो मौद्रिक नीति कम वित्तीय नीति ज्यादा देखिन्छ । नेपालको मौद्रिक सम्बन्ध भारतसँग जोडिएको छ । भारतको मुद्राअनुसार अन्य देशसँगको मुद्राको कारोबार मूल्य घटबढ हुने भएका कारण नेपाली मुद्राको त्यति धेरै महत्व र भूमिका देखिँदैन । नेपाल र भारतको मुद्राको विनिमय दर पनि स्थिर रहेको छ । जब कि यस्तो चलन विश्वका कुनै पनि देशमा देखिँदैन । कुनै पनि देशले अन्य देशसँग मुद्रा विनिमय दरमा स्थिरतको नीति अवलम्बन गरेको छैन । यसरी एउटा देशसँग मुद्राको विनिमय स्थिर राख्नाले नेपालको अर्थतन्त्रमा पनि थुप्रै असरहरु परिरहेको विज्ञहरुको भनाइ छ ।
पंक्तिकारले उठाउन खोजेको विषय भने अहिले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा महिला उद्यमीहरुका लागि के कस्तो सहुलियत रहेको छ भन्ने हो । विशेष गरी पछिल्लो समय अर्थतन्त्रमा पुरुष जत्तिकै महिलाको पनि योगदान हुनुपर्छ भन्ने विशेष अभियानमा पंक्तिकार रहेको छ । हाम्रो देशको अर्थतन्त्रलाई पुरुषभन्दा धेरै जनसंख्या भएको महिलाले पनि योगदान पु¥याउने देशको आर्थिक विकासले नयाँ मोड लिनसक्ने पंक्तिकारको ठम्याइ छ । तर, अर्थतन्त्रमा योगदान पु¥याउन महिलाहरु सक्षम त हुनैपर्छ । त्यसका लागि महिला सहजीकरणको वातावरण तयार हुनुप¥यो । सर्वप्रथम महिलालाई उद्यमशील बनाउन तालीम आदिको व्यवस्था गर्नुप¥यो भने उद्यमशील महिलालाई उद्यम गर्नसक्ने वातावरण तयार गर्नुप¥यो ।
मौद्रिक नीति देशकै प्रमुख नीति भएको र यसले देशको आर्थिक अवस्थालाई कस्तो बनाउने भन्ने स्पष्ट मार्गदिशा तय गर्ने भएकाले पनि यो नीति कत्तिको महिलामैत्री देखियो भन्ने प्रश्न अहं छ । तर, मौद्रिक नीतिको समीक्षा गर्ने हो भने त्यति महिलामैत्री भने देखिएको छैन । किनभने अहिले मौद्रिक नीतिमा न त उद्यमशील महिलालाई प्रोत्साहन देखिन्छ न त उनीहरुका लागि कुनै योजना । कुनै पनि नयाँ उद्यमशील महिलालाई पहिलो समस्या भनेको त लगानीको नै हुन्छ । विभिन्न तालीमबाट परिपक्व भएर उद्यम गर्न चाहने महिला लगानीको अभावकै कारण खुम्चनु परेको अवस्था छ । उसलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले अझै पत्याउन सकेको अवस्था छैन । लगानीकै लागि ठूलो मेहनत गर्नुपर्ने अवस्था छ । कसैकसैले आफ्नो चिनेजानेको भरमा लगानी पाइहाले भने पनि ब्याजको ठूलो समस्या छ । किनभने एउटा ब्याजदरमा कर्जा लिएपछि सोही ब्याजदर तिरिरहनुपर्ने हो । तर, विभिन्न समयमा बैंकले विभिन्न बहाना गरी ब्याजदर बढाइरहेका हुन्छन् । यसले गर्दा भर्खर उद्यम गर्न सुरु गरिरहेका महिलाहरु मारमा पर्छन् । बजारमा स्थापित हुने क्रममा रहेका त्यस्ता उद्यमी महिलाहरु बैंकको मनलाग्दी ब्याजदर वृद्धिका कारण हतोत्साही बन्न पुग्छन् भने पेशाबाट नै पलायन हुन पुग्छन् । यो ठूलो समस्या रहेको हो र यसमा मौद्रिक नीतिले अलिकति पनि नछुनु अझ ठूलो दुर्भाग्य हो । महिलालाई अधिकार दिने र उनीहरुलाई पुरुष समान बनाउने भन्ने भाषणहरु गरेर मात्र हुँदैन । त्यसलाई योजनामा समावेश गर्ने र कार्यान्वयन गर्नेतर्फ पनि सरकारी निकायहरु सचेत हुनुपर्छ । जबसम्म योजना बनाउने र कार्यान्वयन गर्नेतर्फ उन्मुख भइँदैन तबसम्म उद्यमी महिलाहरुको विकास फगत नारामा नै सीमित हुन्छ ।[email protected]

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here