नेपाली कलाकार भएर ओस्कारमा जाने इच्छा छ

317

सुनिल थापा

नेपाली चलचित्रमा कहाँ अडिनु भएको छ ?
हजुरलाई पनि थाहा छ । अरु सबैलाई थाहा छ । म कहाँ छु भनेर ? चलचित्र धेरै परिवर्तन छ । पहिलेभन्दा अहिले डिजिटल फर्मेटले वान टेकमै कथालाई उतार्ने कोसिस गरिन्छ । यो विचित्र छ । कलाको मूल मर्म यो होईन । म आश्चर्यचकित छु ।

तपाईं नेपालमा मात्रै नभएर भारतमा पनि प्रख्यात हुनुहुन्छ, के छ त्यस्तो तपाईंमा कला ?
हो । म साँच्चै कला र अभिनयमा विश्वास गर्छु । कुनैबेला सुपरडुपर फिल्म थियो, चिनो भन्ने । म नेपाली कलाकार भएर ओस्कारमा जाने इच्छा छ । त्यो यति चल्यो कुरै छोडौँ, मलाई नेपाली पारखीहरूले बिर्से रातेकाँइला भनेर चिने ।

रातेकाँइला भनेर मात्रै किन चिन्छन् सुनिल थापालाई ?
रातेकाँइलालाई नेपाली दर्शकले बिर्से भने सुनिल थापा इज फिनिस्ड । मेरा धेरै चलचित्रमा सुनिल थापा होइन, रातेकाँइला भनेर चिनेका छन् ।

अर्को कुनै गरिमाले सुनिल थापालाई चिन्न पाउँदैनन् ?
भर्खरैं मैले धुर्मुस भान्जाको एउटा टेलिसिरियलमा वनढाडेको रोलमा खेलें । स्कुलका नानीले समेत वनढाडे भनेर बोलाउन थाले त्यो पनि मेरो परिचय हो नि ।

उसो भए तपाईंको परिचय रातेकाँइला मात्रै होइन ?
होइन । यो हिन्दी फिल्म ‘मेरीकोम’ आइसकेपछि मलाई गुरु भन्न थालिसके । रातेकाँइला गुण्डाको रोल थियो । मैले गुरुको रोल खेलिसकेपछि मलाई गुरुका हिसावले चिन्न थालिसकेका छन् ।

तपाईंलाई गुण्डाको रोल सुहाउने रहेछ कि गुरुको ?
मलाई दुईवटै सुहाउँछ । म त्यही कारण हिरोको कुनै रोलमा मैले खेलिनँ । मलाई गुण्डाको रोलमा दर्शकले रुचाइदिए म त्यसैमा सन्तुष्ट छु ।

गुण्डा भनेको त नराम्रो होइन र ?
त्यो पर्दामा मात्रै हो । रियलमा त म पनि धेरै राम्रो मान्छे हुँ ।

त्यसलाई नेपाली समाजले मन पराउादैन नि ?
मन पराउनेभन्दा पनि त्यसको भित्री रहस्य प्रमुख कुरा हो । मलाई कतै देखे भने ऊ गुण्डा आयो भनेर भन्छन् । तर डराउँदैनन् । सुनिल थापा भन्छन् । रातेकाँइला भनेर भन्छन् । सुनिल थापा बाटोमा भेट्दा लुक्दैन । हातहातमा मोबाइल छ । फोटो खिच्छन् ।

पर्दा र जनताको बीचमा जाँदा सुनिल थापामा कुनै फरक छैन ?
धर्ती आसमानको फरक छ ।

तपाईं यति सहज मानिस गुण्डामा खेल्दा कुनै हिनताबोध हुँदैन ?
पात्रको रुपमा काम गर्नु र रियल लाइफको जीवन फरक हुन्छ । गलत हुँदैन ।

नकारात्मक सन्देश पनि जान्छ नि ?
जाँदैन । केही सन्देश जान्छ ।

अबको लक्ष्य के हो ?
कि त नेपालीमा राम्रो चलचित्र निर्माण गरेर हलिउडभन्दा राम्रो इतिहास रच्ने हो । या हलिउडमा जाने हो ।

त्यो सम्भव छ त ?
सम्भव छ । जीवनमा कुनै पनि कुरा असम्भव छैन । सबैथोक सम्भव छ ।

नेपालले यस्तो चलचित्र निर्माण गर्नसक्छ ?
सक्छ । के थाहा तपाईंको पनि रोल हुन सक्छ । तपाईंले पत्रकारितामा कति वर्ष बिताउनु भयो ?

२५ वर्ष ।
२५ वर्ष यस क्षेत्रमा बिताउनु भयो । यस्तो टेलिभिजन सो चलाउन थालेको पनि धेरै भयो । पोखरामा भेट हुँदा मैले भनेको थिएँ । चलचित्र जगतमा राजेश हमाल महानायक भए जस्तै पत्रकारितामा ऋषि धमला महनायक हुन् भनेको थियो । हलिउडमा जान सम्भव छ ।

पुरस्कार जित्न सक्छ भन्ने आशय हो नि मेरो त ?
सक्छ नि ।

त्यो किसिमको प्रविधि छ हाम्रो नेपालमा ?
छ । किन नहुनु ।

कलाकार पनि छन् ?
धेरै राम्रा कलाकार छन् । बलिउडभन्दा राम्रा कलाकार हाम्रो देशमा छन् । डिजिटल प्रविधिले बनाएको र रियल अभिनयमा धेरै फरक छ । हामी नेपाली कलाकार जीवन्त अभिनय गर्न सक्छौँ । हामीसँग अर्गानिक कला र अभिनय छ । अरुसँग किन तुलना गर्ने ?

त्यस्ता कलाकार बाहिर आउन सकेनन् नि ?
अवसर नपाएर हो । २८ वर्षपछि मेरीकोममा मैले भूमिका पाएँ । त्यसको लागि कुनै प्रयास गर्नुपरेन । मेरीकोम खेलिसकेपछि फरक परिचय बन्यो । त्यसमा मेरो कडा गुरुको रोल थियो । गेटअप राम्रो थियो । मैले नयाँ चलचित्र बनाएको छु, साँढे सात ।

कहिले प्रदर्शन हुन्छ ?
मंसिर १५ गते मिति फिक्स गरेका छौं ।

कलाकारहरु को–को हुनुहुन्छ ?
सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेशदेव पन्त, सन्तोष सुवेदी, सानदेन भुटिया, मेनुका प्रधान, सुनिल थापा ।

चलचित्रको मुख्य भूमिकामा कोको हुनुहुन्छ ?
सत्यराज नायकको भूमिकामा छ । मेनुका प्रधान नायिकाको रोलमा छिन् ।

तपाईंको कुनै भूमिका छैन ?
निर्देशकले एउटा रोल खेल्नुस् भनेपछि सानो रोल खेलेको छु । मैले बनाएको चलचित्रमा मेरो अभिनय हुनुपर्छ भन्नेमा म छैन । अरु केही कलाकर्मीले आफैं लगानी गर्ने आफैं खेल्ने गर्नुभएको पनि छ । त्यो आश्चर्य मान्नुपर्ने विषय पनि होइन । बच्चादेखि नै रुचि हुनसक्छ । चलचित्र राम्रो बनेन भने त्यसबाट उम्किनको लागि पात्रलाई देखाउने अवस्था हुन्छ । आफन्त वा कोहीलाई घुसाउन थालियो भने ।

तपाईंलाई त्यस्तो आग्रह आएन ?
छैन । मलाई कुनै यस्ता कुरा सोच्ने फुर्सद छैन ।

प्रियंका चोपडासँग सम्बन्ध राम्रो छ नि ?
राम्रो छ ।

अहिले पनि कुराकानी हुन्छ ?
हुन्छ । किन नहुनु नि ? उहाँ काममा एकदम प्रयासरत गर्ने हिरोइन हुन् । निक्कै मेहनती हुन् । समयमा उपस्थित हुने हिरोइन हुन् ।

बलिउडका कलाकारले सुनिल थापालाई कसरी चिन्छन् ?
पहिले थापा भनेर मात्रै चिन्थे । मेरिकोम खेलिसकेपछि । थापा सर भनेर चिन्छन् । थापा सर भन्दाखेरि कता कता बुढो भएँ कि जस्तो लाग्छ । तर मन बुढो भएको छैन ।

तपाईं यो उमेरमा पनि यत्तिको फिट हुनुहुन्छ, ८० वर्षसम्म यही स्थितिमा रहनु होला ?
भन्न सकिन्न । रहिन्छ होला । म नियमित व्यायाम गर्छु । स्फुर्ति बढेको छ । काम गरिरहेकै छ्ु । रामदेव बाबाजस्तै स्लिम हुन्छु कि । स्लिम हुन्छु, चिलिम होइन ।

तपाईंका अरु योजनाहरु के–के छन् ?
तत्काल शेरबहादुर नामक चलचित्र बन्दै छ । त्यसको टाइटल रोलमा आउनेछु ।

उसो भए हाम्रो देशको प्रधानमन्त्री शेरबहादुर देउवाको रोलमा तपाईंलाई देख्न पाइने भयो ?
होइन । आर्मीबाट रिटायर्ड भएको सिपाहीको नाम हो । सबैले प्रधानमन्त्री हो भन्ने बुभ्mछन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दा शेरबहादुर देउवाज्यू भनेर गरिन्छ । मैले भनेको छु शेरबहादुर यसैले फरक छ ।

तपाईं राजनीतिमा नआउने ?
नआउने । म नेता बन्दिनँ ।

आजको दिनमा तपाईंलाई नेता भएर काम गरेको हेर्नेहरु पनि त छन् नि ?
होइन । म आउँदिनँ । अमिताभ बच्चनको स्थिति पनि हामीलाई थाहा छ । अभिनेता नेता हुन सक्दैन । सत्रुधन सिन्हा एक जना मात्रै सफल हुनु भएको व्यक्ति हो । तर पछिल्लो समयमा उहाँको पार्टीमा कुनै भूमिका छैन । मलाई त हेर्नुहोस्, समाजलाई अभिनेता भएर सन्देश दिनुपर्छ भन्ने लाग्छ ।

उसो भए तपाईंलाई देशको मन्त्री तथा प्रधानमन्त्री भएर काम गर्न अहिले मन छैन ?
छैन् । यदि म त्यो भएँ भने सबैभन्दा पहिले तपाईंले नै गाली गर्नुहुन्छ । ए सुनिलजी तपाईंले के गर्नु भएको यो ? भनेर प्रश्न गर्नुहुन्छ । हाम्रो देशमा काम गर्न दिने वातावरण छैन । राजनीतिमा मलाई कुनै चासो पनि छैन ।

चलचित्रमा तपाईंले अहिलेसम्म कुनै नेताको भूमिकामा अभिनय गर्नुभएको छ ?
छ । मैले गृहमन्त्रीको रोलमा खेलेको छु ।

रेखा थापा, कोमल वली, सरोज खनाल, करिश्मा मानन्धर लगायतका दर्जनौं चर्चित कलाकारहरु राजनीतिमा छन् नि ?
उहाँहरुको इच्छा हो । कोमल वली त पहिलेदेखि नै राजनीति नजिक हुनुहुन्थ्यो । सरोज खनाल, करिश्मा र रेखाजीहरु अहिले लाग्नुभएको छ, किन लागेको भनेर भन्दिनँ । कला क्षेत्रमा जस्तै राम्रो काम गर्नुभयो भने जनताले उहाँहरुलाई पत्याउनेछन् । मेरो शुभकामना छ । -स्वाभिमान नेपाल मासिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here