
काठमाडौँ। चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग २२ भदौमा बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा चीनले उक्त प्रतिबद्धता जनाएको हो । परराष्ट्रमन्त्री महराले चीनको ‘एक क्षेत्र, एक मार्ग’को कार्यक्रमका बारेमा आफूले नेपालका सबै प्रमुख दलका नेतासँग परामर्श गरेर साझा र सकारात्मक धारणा लिएर आएको विश्वास दिलाएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले हवाइ र रेलमार्गको सम्पर्क सञ्जालसम्बन्धी विगतमा भएका समझदारीलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा दुई देशबीच व्यापार र पारवहन सम्झौता भएको थियो ।
भेटमा प्रधानमन्त्री खछ्याङलाई उपप्रधानमन्त्री महराले चीनका राष्ट्रपति सि चीनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिनुभएको उपप्रधानमन्त्रीका सञ्चार तथा जनसम्पर्क संयोजक हरि लामिछानेले बेइजिङबाट जानकारी दिनुभयो ।
यस्तै उपप्रधानमन्त्री महरालाई चिनियाँ प्रधानमन्त्री खछ्याङले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको छ । मन्त्री महराले तातोपानी र केरुङ नाका खुलाउन आग्रह गर्दा चीनले सकारात्मक प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री खछ्याङले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको आन्तरिक राजनीतिक स्थिति राम्रोसँग अघि बढेकामा खुशी व्यक्त गर्नाका साथै नेपाली जनताको समृद्धिको चाहना पूरा हुने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
आजै परराष्ट्रमन्त्री महरा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेजिङमा भेटवार्ता भयो । भेटमा विदेशमन्त्री यीले आपसी सम्बन्ध तथा एकार्काले द्विपक्षीय र बहुपक्षीय हितमा समर्थन गर्नेजस्ता साझा विकासका तीन सिद्धान्तमा केन्द्रित रहेर चीनले सहकार्य गर्ने बताउनुभयो । उहाँले दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, सम्पर्क सञ्जालm बेइजिङ र चेन्दुको काठमाडौँसँग सीधा हवाई सम्पर्क, नेपालको पुनःनिर्माणमा सहयोग, व्यापारका क्षेत्रमा लगानी अभिवृद्धि तथा ऊर्जा र पर्यटनमा सहयोग गर्ने विश्वास दिलाउनुभएको थियो ।
यस्तै उपप्रधानमन्त्री महरा र चीनका स्टेट काउन्सिलर याङ जेचीबीच आज भेटवार्ता भई आपसी हित र चासोका विषयमा छलफल भयो । सो अवसरमा एक क्षेत्र एक मार्ग(ओबोर)बाट नेपालले सहयोग लिनसक्नेमा जेचीले जोड दिनुभएको र उपप्रधानमन्त्री महरा त्यसमा सहमत हुनुभएको थियो ।
‘चीनसँग रेलमार्ग जोड्ने नेपालीको तीव्र चाहना’
काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालको व्यापार प्रवद्र्धनमा टेवा दिने विश्वास व्यक्त गर्नुुभएको छ ।
परराष्ट्रमन्त्री महराले विदेश मामिला विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्धका लागि हिमालय सीमापार विषययमा प्रवचन दिँदै एक क्षेत्र एक मार्ग(ओबोर)अन्तर्गत ल्हासा–काठमाडौँ रेलमार्गका लागि नेपाली जनताको तीव्र चाहना भएको बताउनुभयो ।
उहाँले दुवै देशका उच्च नेताले यसमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको अवगत गराउँदै ओबोर नेपाल अति कम विकसित मुलुकबाट विकसित मुलुकका स्तरोन्नति हुन सहयोग पुग्ने बताउनुभयो । नेपालका विविध क्षेत्रमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये चीन पहिलो जनाउँदै उहाँले सञ्चार, पर्यटन, पारवहन, सडक र रेलसम्ममा चिनियाँ लगानी आकर्षित गर्न विगतमा भएका समझदारी पूरा गर्न नेपाल सरकार प्रतिबद्ध छ भन्नुभयो ।
चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री महरा र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका मन्त्री सोङ ताओबीच आजै दुई देशका जनतादेखि जनतासम्मको सम्पर्कको प्रवद्र्धन र आपसी हितका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री महराले आजै नेपाली दूतावासको नयाँ वेबसाइट सार्वजनिकीकरण गर्नुभयो ।

















