दशैंका लागि असोज पहिलो साता काठमाडौंमा च्याङ्ग्रा ल्याइने

368

काठमाडौं । नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यस वर्ष मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ। केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो।

संस्थानले तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ। यसपटक असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए।

च्याङ्ग्रा खरिदका लागि संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र स्थापना गरेको छ। संस्थानको पोखरास्थित अञ्चल कार्यालयका प्रमुख अम्बिकाप्रसाद घिमिरेको नेतृत्वमा भोलि असोज २६ गते कर्मचारी मुस्ताङतर्फ प्रस्थान गर्ने र २९ गते पुग्ने जनाइएको छ।

संस्थानले किसान वा व्यवसायीसँग च्याङ्ग्रा खरिद गरी हिँडाएर म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याउँछ। बेनीबाट उक्त च्याङ्ग्रा ट्रकमा राखी असोज ५ देखि ६ गतेभित्र राजधानी ल्याइसक्ने तयारी गरिएको छ ।

गत वर्ष संस्थानले एक हजार ४०० च्याङ्ग्रा र एक हजार ४०० खसी–बोका गरी कूल दुई हजार ८०० च्याङ्ग्रा तथा खसी–बोका खरिद गरेकामा यसपाला भने एक हजार च्याङ्ग्रा र एक हजार ५०० खसी–बोका खरिद गर्ने भएको छ।

गतवर्ष बिक्री गर्न कठिन भएकाले यस वर्ष च्याङ्ग्रा खरिद कम गर्न लागिएको हो। संस्थानले यस वर्ष दाङको तुल्सीपुरबाट ५००, मकवानपुरबाट एक हजार खसी–बोका खरिद गर्ने भएको छ।

संस्थानको प्राथमिक खरिद समितिले तोकिदिएको आधारमा च्याङ्ग्रा खरिद गरिन्छ। समितिको अध्यक्ष सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तीन सदस्य समिति गठन हुने व्यवस्था छ।

समितिमा सोही जिल्लाको पशुसेवा कार्यालयका प्रमुख र स्थानीय खाद्य संस्थानका कर्मचारी एकजना हुन्छन्। गत वर्ष समितिले मुस्ताङमा जिउँदो प्रतिकिलो च्याङ्ग्राको मूल्य ४८५ तोकेको थियो।

तोकिएको मूल्यमा प्रतिकिलो १६५ ढुवानी तथा नाफा जोडी प्रतिकिलो ६५० मा बिक्री गरेको थियो। खाद्य संस्थानले खसी–बोका बिक्री गर्दा बजार मूल्य अस्वाभाविक बढेको देखिँदैन।

दशैंमा झण्डै राजधानीमा ५० हजारभन्दा बढी खसी–बोका बिक्री हुने अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here