सर्लाही । पूर्वसांसद एवं राजपाका स्थापित नेता शिबपुजन यादवको नेतृत्वमा राजपाका तीन केन्द्रीय सदस्य र १४ जना पूर्व गाबिस अध्यक्षसहित ७२०० जना नेता कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीको बजिरा नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेता यादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका नेताहरुको नेतृत्वमा ७२०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकर, नेताहरु मातृका यादव, रामेश्वर राय यादवले माओवादी केन्द्रमा स्वागत गरेका थिए ।
गणतन्त्र नै गुम्ने खतरा थियो, ‘प्रचण्ड’
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आफूहरुले पूर्ण संविधान खोजेको भए गणतन्त्र नै खत्तम हुने खतरा रहेको बताए । प्रचण्डले भने, “अहिलेको संविधान पूर्ण छैन, अहिलेको संविधानमा हाम्रो पनि नोट अफ डिसेन्ट छ । महिलाका अधिकार, दलितका अधिकार, मधेशीका अधिकार पूर्ण रुपमा संविधानमा समेटिएका छैनन् । हामीले अन्तिमसम्म कोशिस गर्यौं । तर, संसदमा हाम्रो अंकगणित तेस्रोमा थियो, त्यसैले हामीले सम्झौताको संविधान बनायौं । अहिलेको संविधान प्रगतिशील छ । हामीले पूर्ण अधिकार सहितको संविधानमा अडान लिएको भए कांग्रेस एमाले मान्ने पक्षमा थिएनन्, गणतन्त्र नै गुम्ने खतरा हुन्थ्यो ।’’
“माओवादी कुनै क्षेत्रीय वा समुदाय विशेषको राष्ट्रवाद मान्दैन, काठमाडौं बनाउन मधेशीको श्रम छ, मधेशमा काठमाडौं र पहाडको पसिना छ, प्रचण्डले भने, “कुनै समुदाय विशेषको अहङ्कारलाई हामी राष्ट्रवाद मान्न सक्दैनौं, हामी पहाड र मधेशका नाममा गरिएको नश्लवाद र पृथकतावाद मान्दैनौं । हामी हिमाल, पहाड र मधेश मिलेको, सबैको समान अधिकार भएको देश र प्रगतिशील राष्ट्रवाद स्थापित गर्न चाहन्छौं ।’’
कार्यक्रममा गृहमन्त्री जनार्दन शर्मा, माओवादी नेता मातृका यादव, रामेश्वर राय यादव लगायतका नेताहरुले बोलेका थिए ।
पैसाले जित्नेहरुले जनताको काम गर्दैनन्, “प्रचण्ड’’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको भोट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्ट्राचार मात्र गर्ने बताएका छन् ।
आइतबार रौतहटको चन्द्रपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, “जनमतबाट डराएपछि भ्रष्टहरु पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन् । यहाँ पनि भोजभतेर गरेर, पैसा बाँडेर चुनाव जित्न खोजेको सूचना आएको छ । उनीहरु अहिले पनि जनतालाई मान्छे ठान्दैनन् । पैसा बाँडेर चुनाव जितेपछि उनीहरुले जनताको काम गर्दैनन्, त्यो बाध्यता पनि हुँदैन, उनीहरुको काम त भ्रष्ट्राचार गरेर आफ्नो लगानी उठाउनु, देशलाई लुट्नु मात्र हुन्छ ।’’
“बैशाख ३१ गते नै सबै ठाउँमा चुनाव गर्न सकिन्थ्यो । तर, हामीले त्यसो गरेनौं’’, प्रचण्डले भने, “एकै चरणमा चुनाव गरेको भए मधेशमा धेरैको रगत बग्थ्यो, धेरैलाई जेल हाल्न पथ्र्यो । म जनतालाई गोली ठोक्ने, जेल हाल्ने पक्षमा थिइनँ । देशलाई शान्ति, स्थीरता र विकासको दिशामा लान चाहन्थें, त्यसैले चरण चरणमा चुनाव गरियो ।’’
आइतबार बिहान अध्यक्ष प्रचण्डले चन्द्रपुरकै ३ स्थानीय चुनावी सभालाई सम्बोधन गरे।


















