अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

475

काठमाडौँ । मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको आज सम्पन्न २०औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए।

यस्तै साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्कालाई सर्वसम्मतरुपमा चयन गरेको छ ।

बीस वर्ष लामो जलविद्युत्को विकासमा लागेको कम्पनीले पाँचथर याङवरक गाउँपालिकामा निर्माण भइरहेको काबेली बी–१ जलविद्युत् आयोजनाको टेलरेसको पानी उपयोग गरी १० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण शुरु गर्न लागेको छ।

यस्तै सोलुखुम्बु जिल्लाको बुदुम खोलाबाट ११.८ मेगावाट क्षमताको अर्को आयोजना निर्माणका लागि अध्ययन शुरु गरेको सो अवसरमा जानकारी दिइयो ।

यस्तै काबेली बी एक नामक २५ मेगावाट क्षमताको अर्को आयोजना आगामी चैतभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरेको छ ।

नेपालका जलविद्युत् कम्पनीमध्ये हरेक वर्ष पहिलो वार्षिक साधारणसभा गर्ने र कम्पनीको हिसाब किताब सर्वसाधारणका लागि सार्वजनिक गर्ने पहिलो कम्पनी रहेको कार्यकारी अध्यक्ष न्यौपानेले दाबी गरे।

कम्पनीले इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई अभ्यास अध्ययन र अध्ययनपश्चात् रोजगारीको अवसरसमेत प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here