वैवाहिक जीवन आफैं सफल हुँदैन, यसलाई सफल बनाउन पनि जान्नुपर्छ । जीवनमा आइपर्ने अनेक उतारचढावलाई यदि समझदारीपूर्वक समाधान गर्न सक्ने हो भने वैवाहिक जीवनलाई सफल बनाउन सकिन्छ, जसमा श्रीमान्श्रीमती दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।
यस्तै विचार छ, जीवनका २३ वर्ष सँगै बिताएका सफल दम्पत्ती शीतलकुमार कार्की र संगीता बस्नेतको । करिब २३ वर्षअगाडि कार्की नैकापका बासिन्दा थिए भने बस्नेत ललितपुरकी बासिन्दा थिइन् । उनीहरुको मागी विवाह भएको थियो । दुवै शिक्षित र सुसंस्कृत परिवारका थिए । त्यसकारण पनि उनीहरुबीच कुनै असमझदारी भएन । यो जोडीको एक छोरा छन् र उनी हाल अमेरिकामा अध्ययनरत छन् ।
करिब १८ वर्षअघि यो जोडीले आफ्नै नेशनल ओपन कलेज (एनओसी) स्थापना गरेका थिए, कार्की त्यही एनओसीमा प्राचार्यको रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । इञ्जिनियरिङ अध्ययन गरेका कार्की कलेजको प्राचार्य जिम्मेवारीमा रमाइरहेका छन् । देशका भविष्यका कर्णधारहरु उत्पादन गर्ने महत्वपूर्ण कार्यभार हो भन्ने महसुस कार्की दम्पतीमा रहेको छ ।

त्यहीँबाट यो जोडीले एकअर्काको साथमा संघर्ष सुरु गरे । कुनै काम सुरु गर्दा यदि राम्रो तयारी र निरन्तरता नभए सफल हुन गाह्रो पर्छ । श्रीमान् केही समय मन्त्रालयको जागिरे हुँदा श्रीमती संगीतालाई कलेज चलाउन गाह्रो प¥यो । केही समय घाटामा पनि गयो । तर पछि यो जोडी सँगै भएर कलेज सञ्चालन गर्न थाले । जुन शिक्षालय अहिले गुणस्तरीय शैक्षिक केन्द्र बनेको छ । करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको सो कलेजमा अहिले थुप्रै विद्यार्थीहरु उज्ज्वल भविष्यको सपनाका साथ अध्ययनरत छन् ।
विवाहका सुरुवाती दिन सम्झिँदा यो जोडी एकअर्कामा घुलमिल हुन शिक्षित परिवार भएका कारण खासै समस्या नभएको जनाउँछन् । घरमा सबै जना आत्मनिर्भर भएका कारण विवाह गरेर घर जाँदा त्यहाँको वातावरणमा घुलमिल हुन कुनै अप्ठ्यारो नपरेको श्रीमती संगीताको भनाइ छ । दुवै जना एउटै क्षेत्रमा काम गर्ने भएकाले पनि उनीहरुलाई एकअर्कालाई बुझ्न सजिलो भएको छ । अझ श्रीमतीले बिहानदेखि बेलुकासम्म कलेज सञ्चालनमा सहयोग गर्ने भएकाले आफूलाई बाहिरको काम गर्न सहज भएको श्रीमान् कार्कीको भनाइ छ ।
यो जोडीले बेलाबेलामा घुमफिर पनि गर्ने गरेको छ । हालसम्म एशिया तथा युरोपका केही देशहरु घुमघाम गरिसकेको यो जोडीको भनाइ छ । साथै, अमेरिका, क्यानडालगायत देशमा सपरिवार घुमफिर गर्ने चाहना रहेको छ । दम्पतीको साथमा घुमफिर गर्नु सबैभन्दा अविस्मरणीय क्षण रहेको यो जोडीको भनाइ छ ।
जीवनमा समस्यापूर्ण समयहरु आउँछन् । आफ्ना पनि जीवनमा अप्ठ्यारा समय आएको यो जोडीको बुझाइ छ । तर, तिनलाई संयमता र सुझबुझपूर्ण तरिकाले समाधान गर्नुपर्ने यो जोडीको भनाइ छ । वैवाहिक जीवनको सबैभन्दा बलियो पाटो नै एकअर्काप्रतिको उत्तरदायित्व, जिम्मेवारीबहन र समझदारी रहेको यो जोडी जनाउँछ । त्यसलाई पालना गर्न सके वैवाहिक जीवन सुमधुर हुन सक्ने यो जोडीको भनाइ छ ।
श्रीमान् शीतलकुमारको विचारमा नेपाली समाजमा वैवाहिक जीवन सफल नहुनुमा केटालाई बढी दोष दिइने गरिन्छ । तर, केटी पक्ष पनि उत्तिकै दोषी हुने उनको विचार छ । श्रीमती संगीता पनि केटा तथा केटी दुवै परिवारका कारण वैवाहिक जीवन सफल हुने वा नहुनेमा निर्धारण नगर्ने जनाउनुहुन्छ । उनका अनुसार दुवै परिवारले केटाकेटीको मनोविज्ञान बुझ्ने र उनीहरुलाई राम्रो कामका लागि प्रोत्साहन गर्ने हो भने वैवाहिक जीवन सफल हुन्छ ।
श्रीमान् शीतलकुमारको विचारमा नेपालमा शिक्षाका कारण पनि वैवाहिक जीवनमा ठूलो असर परिरहेको छ । नेपालमा पढाइलाई बिल्कुल पैसा कमाउनसँग जोडिन्छ । तर, पढ्नु र पैसा कमाउनु फरकफरक कुरा भएको उनको भनाइ छ । यदि अध्ययनलाई मात्र केन्द्रित गरेर उनीहरुलाई केही बन्न अवसर दिने हो भविष्य राम्रो हुन सक्ने उनको विचार छ । त्यसपछि मात्र वैवाहिक जीवन सफल हुनसक्ने उनी जनाउँछन् ।
‘अहिलेको पुस्तामा धेरैलाई आफ्नो भविष्य र पढाइलाई लिएर चिन्ता रहेको छ । त्यसकारण उनीहरुलाई गलत काम गर्नतर्फ मोडिने सम्भावना कम छ,’ उनी भन्छन्, ‘विवाहका विषयमा केटाको परिवार पनि गम्भीर हुनुपर्छ । विवाह गरेर मात्र हुँदैन, उसलाई बस्ने व्यवस्था गरिदिनुपर्छ । उसले कहाँ काम गर्छ, कसरी पुग्छ, यी सबैको निर्धारण पहिले नै गर्नुपर्छ । विवाहपछि आउने विभिन्न समस्याहरुलाई पहिले नै आँकलन गरेर समाधान गर्ने हो भने मात्र वैवाहिक जीवन सफल हुन सक्छ । त्यसकारण आफ्ना सन्तानको वैवाहिक जीवनमा अभिभावकको पनि ठूलो भूमिका हुन्छ ।’
‘मेरो परिवार खेतीपाती तथा शिक्षा क्षेत्रमा आबद्ध रहेको थियो । तर, श्रीमतीको परिवार भने सहरिया संस्कृतिको हुनुहुन्थ्यो । त्यसकारण विवाह गरेर घर लैजाँदा सामाजिक केही भिन्नताका कारण केही अप्ठ्यारो परेको हो । त्यस्तो पक्षमा पनि ध्यान पु¥याउनुपर्ने हुँदो रहेछ,’ उनी भन्छन् ।
श्रीमती संगीतालाई भने आफ्नो श्रीमान्को सरल र मिहेनती स्वभाव मन पर्छ भने चाँडै रिस उठ्ने बानीमा सुधार गरिदिए हुन्थ्यो जस्तो लाग्छ । श्रीमान् शीतलकुमारलाई भने आफ्नी श्रीमती सबैलाई सहयोग गर्ने दयालु स्वभावको लाग्छ । आफ्नो परिवार नै धार्मिक, शाकाहारी रहेको र त्यसका कारण थोरै व्यक्तिहरुसँग मात्र आफ्नो निकटतम सम्बन्ध रहेको बताउनुहुन्छ । यसले व्यावहारिक जीवनका केही काममा अप्ठ्यारो परेको पनि सुनाउँछन् । तर पनि जीवनमा ठूलो भौतिक महत्वाकांक्षा नरहेको कारण पनि आफूहरुको परिवार सुखी रहेको उनको भनाइ छ ।
विवाह भनेको केटाकेटी मात्र नभएर दुई परिवारको पनि आत्मिक मिलन रहेको यो जोडीको भनाइ छ । क्षणिक आवेशमा नआएर एक अर्कालाई बुझ्ने कोशिस गरेमा वैवाहिक जीवन सफल हुन सक्ने यो जोडीको विचार छ । कमीकमजोरी मानवमा हुने र त्यसलाई स्वीकार्न सक्नुपर्ने श्रीमती संगीताको भनाइ छ ।
‘अहिलेको पुस्ता हेर्दा हामीले नकारात्मक सोच्नुपर्ने अवस्था छैन । उनीहरु प्रतिभावान् छन् । केही भने साह्रै असन्तुष्ट पनि छन् । त्यसमा राजनीतिक तथा सामाजिक कारण पनि होला । उनीहरु सुखको खोजीमा छन् । ठूलो परिवर्तन चाहन्छन् । तर परिवर्तन किन भन्ने थाहा छैन,’ श्रीमान् शीतलकुमार भन्छन्, ‘तर उनीहरु उज्ज्वल भविष्यका लागि पनि चिन्तित छन् । यी दुवै पक्षमा जसको शिक्षा, लक्ष्य, पेशामा स्थिरता छ, त्यस्तो जोडीको जीवन सफल हुन्छ । जसको जीवनमा अस्थिरता छ, त्यस्तो जोडीको वैवाहिक जीवनमा पनि केही समस्या हुनसक्छ ।’


















