प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम

130

काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले निर्वाचनका लागि तयार गरिएको अन्तिम मतदाता सङ्ख्या स्वीकृत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

बैठकले स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ। स्वीकृत मतदाता नामावलीअनुसार पुरुष मतदाताको सङ्ख्या ७७ लाख ७६ हजार ४९६ छ भने महिला मतदाताको सङ्ख्या ७६ लाख ५१ हजार ६५ रहेको छ।

त्यसैगरी, तेस्रोलिङ्गी मतदाताको सङ्ख्या १७० रहेको आयोगले जनाएको छ। स्वीकृत मतदाता नामावलीअनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता छन्।

डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणवश यकिन हुन नसकेको जनाउँदै आयोगले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण प्राप्त भएपछि मतदाता नामावलीमा समावेश गरिने जनाएको छ।

सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छ।

मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था रहेको प्रवक्ता ढकालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here