यो वाम एकता होइन, दक्षिणपन्थी गठबन्धन हो,

210

प्रचण्ड क्रान्तिको धारबाट पलायन भइसक्नु भयो, अब उहाँको आशा कम्युनिष्ट आन्दोलनमा छैन

 

                   मोहन वैद्य “किरण”
     अध्यक्ष– नेकपा (क्रान्तिकारी माओवादी)

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण प्रयास भएको छ, ठूला बाम एक ठाम हुने उद्घोष गरेका छन् । तपाईलाई कस्तो लागेको छ ?
एमाले र माओवादी केन्द्र दुवै पार्टी वामपन्थी आवरणमा रहेका अवसरवादी पार्टीहरू थिए । यी दुवैबीच भिन्नता पनि थिएन । त्यसैले उनीहरूबीच तालमेल हुनु र एकता हुनु स्वाभाविक हो । अब त्यो एकता वाम एकता नै होइन भन्दा हुन्छ । विचारमा उहाँहरूको मिल्थ्यो । यो एउटा दक्षिणपन्थी गठबन्धन हो । नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेको होइन, विलय भएको हो भन्ने हाम्रो निष्कर्ष छ ।

त्यसोभए यो कम्युनिष्टहरूको एकता होइन ?
होइन, होइन । उहाँहरूले त कम्युनिष्टहरूको एकता नै भन्न सक्नुहुन्छ र भनिरहनु भएको पनि छ । तर एकीकृत भइरहेका पार्टीहरूमा उहाँहरूले कम्युनिष्टको सिद्धान्त बाँकी राख्नु भएको छैन । नाममा कम्युनिष्ट राखे पनि काममा विल्कुलै छैन । पुरानो सत्ता व्यवस्थाका नयाँ पहरेदार भएका छन् यी दुवै पार्टीका नेताहरू ।

प्रचण्डलाई तपाई कम्युनिष्ट नेता मान्नुहुन्न त ?
उहाँ त दक्षिणपन्थी भइसक्नु भयो । प्रचण्ड क्रान्तिको धारबाट पलायन भइसक्नुभएको छ । उहाँहरूको लक्ष्य अब संसद्वाद हो । जनताको मुक्ति उहाँहरूको लक्ष्य होइन अब । प्रचण्डले प्रतिक्रान्ति गरेपछि नै हामी अलग भएका हौ । प्रचण्डलाई अब पनि कम्युनिष्ट नेता मान्ने गल्ती कसले गर्ला र ?

तपाईहरू तालमेलमा नजाने ?
उहाँहरूसँग के तालमेल गर्ने ? हाम्रो पार्टी चुनावमा उठ्ने कुरा हुँदैन । समर्थन गर्ने कुरा होला । त्यो मोर्चाले ठूलो जित हात पार्छ भन्ने हामीले आशा पनि गरेका छैनौँ । फेरि उनीहरूको गैरवामपन्थी चरित्रले गर्दा हाम्रोे समर्थन उनीहरूलाई रहने ठाउँ नै छैन ।

नेपालमा कम्युनिष्ट एकता असम्भव हो अब ?
सम्भव छ । त्यो हामी गर्छौ । सच्चा क्रान्तिकारीहरूबीचको एकता एकदम आवश्यक भएको छ । अब त्यो विकल्पको रूपमा हाम्रो पार्टीले सशक्त पहल गर्छ ।

अहिलेको जनमत त माओवादी केन्द्र र एमालेतिर गयो नि । तपाईहरूको पहल कसरी सार्थक हुन्छ ?
एकछिन हावाहुरी लाग्न सक्छ । त्यो हावाहुरीलाई सबैले बुझ्छन् । उहाँहरू ठूला कुरा गर्नुहुन्छ, तर केही उपलब्धि हुनेवाला छैन । आर्थिक क्रान्ति, समृद्धि, समाजवाद उहाँहरूको कुरा बकवास मात्रै हो । उहाँहरू विचलित हुनुभएको छ । विचलित भएका व्यक्तिहरूबाट कुनै आशा गर्न सकिन्न । अब उहाँहरूबीच उम्मेदवारीको झगडा सुरु हुने छ । चुनाव सम्पन्न भइसकेपछि पदको बार्गेनिङ सुरु हुनेछ । त्यो अवस्था हेर्न बाँकी नै छ । अब क्रान्तिकारी कम्युनिष्टहरूबीचको ध्रुवीकरणको वातावरण अत्यन्त सकारात्मक बनेको छ ।

वामपन्थी एकता एकातिर, प्रजातान्त्रिक एकता अर्कोतिर हुने देखिएको छ । अब साना कम्युनिष्ट दलको औचित्य सकिएको हो ?

नेपालका दलहरूमध्ये साना भनिएका दल ठूला र ठूला भनिएका दल अब साना हुन्छन् हेर्दै जानुस् । कम्युनिष्टको हिसाबले उहाँहरूको अस्तित्व सकिएको छ । अब एउटा कम्युनिष्ट आन्दोलनका लागि मिहिनेत गर्नुपर्छ । त्यो मिहिनेत हामी गछौँ । साना दलहरू पनि अब एकीकरणको दिशातर्फ जानुपर्छ । नेपालमा कम्युनिष्ट आन्दोलनको बलियो सम्भावना छ ।

तपाईहरू पनि प्रचण्डको पछि लागे हुँदैन र ?
हामी प्रचण्डको पछि किन लाग्ने ? हामी पहिला पनि देशको क्रान्ति र जनताको पछि लागेको हो । उहाँहरूलाई त सत्ता र पद भए पुग्यो । देश र जनताको निम्ति त उहाँहरूले धोका दिनुभयो । प्रचण्डले मोहन वैद्यलाई सँगै लैजाने सपना नदेखे हुन्छ । हाम्रा बाटा फरक–फरक हुन् ।

प्रचण्डले त वैद्यलाई पनि एकीकरणमा ल्याउने भनिरहनु भएको छ नि ?
अब उहाँले त्यो कुरा सपनामा पनि नदेख्दा हुन्छ । देश र जनताप्रति गद्दारी गर्ने व्यक्तिले यस्तो कल्पना गर्नु ठीक होइन । उहाँले देश र जनताप्रति ठूलो विश्वासघात गर्नुभएको छ । विश्वाघातीको पछि हामी लाग्ने कुरा असम्भव हो ।
(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here