काठमाडौं / वैदेशिक व्यापारका लागि नेपालको प्रमुख नाका मानिने वीरगञ्ज नाकाको सडक बर्षौंददि जीर्ण अवस्थाम रहेको छ ।
वीरगञ्ज बाइपासको प्रतिमाचोकदेखि रजतजयन्ती चोक हुँदै मितेरीपुल जोड्ने सडक अत्यधिक व्यस्त सडक हो । यहा ठूला मालवाहक सवारी साधन चौबीसै घण्टा गुड्छन् । यात्रुको चाप र सवारी साधनको चाँपले यो नाका अत्याधिक व्यस्त नाकाका रुपमा लिइन्छ ।
उक्त खण्डमा दैनिक करिब १५ सय मालवाहक साधन र त्यसभन्दा बढी निजी र सार्वजनिक सवारी साधनको संख्या रहेको छ । रिक्सा, ठेला, गाडा, टेम्पोलगायत सवारी साधनको चाप पनि अत्यधिक रहन्छ ।
तर, त्यही सडक वर्षामा हिलो र हिउँदमा धुलो–धुँवाका कारण हिँडिनसक्नु हुन्छ । वीरगञ्ज बाइपासमा सवारी साधन चलाउनु निकै जोखिमपूर्ण हुने बस चालक सरोज कोइरालाले जनाएका छन् । उनी भन्छन्, ‘बाटो खत्तम छ, कसैले ग्राभेल पनि बिछ्याउँदैन ।’
देशकै मुख्य नाकाको सडक दुरावस्थामा रहनु दुःखद भएको वीरगञ्ज भन्सार प्रमुख सेवन्तक पोखरेलले जनाएका छन् । ‘सडक जीर्ण छ, सधैं जाम हुन्छ, गाडी बिग्रेर त्यत्तिकै हैरानी हुन्छ । त्यसको असर सबैतिर परिरहेको छ,’ उनी भन्छन्, ‘यसको मर्मत सम्भारका लागि राज्यका निकायहरुको ध्यान पुग्न नसक्नु दुःखद हो ।’
उद्योगी / व्यवसायीहरुको गुनासो पनि त्यस्तै छ । राज्यलाई सबैभन्दा बढी राजश्व संकलन गरिदिने नाकाको प्रवेश मार्गमाथि भइरहेको उपेक्षा दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ छ ।
सोही सडकखण्डका कारण भारततर्फबाट कार्गोहरु आउन नमान्ने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले जानकारी दिएका छन् । ‘भारततर्फ रक्सौलदेखि मोतिहारीसम्मको सडकको अवस्था पनि उस्तै छ,’ उनी भन्छन्, ‘यता आउनुभन्दा कार्गोहरु विराटनगर र भैरहवा जान रुचाउँछन् ।’ मुलुकको ७० प्रतिशत व्यापार वीरगञ्ज नाकाले नै धान्ने गरेको छ ।


















