कान्तिपुरका मालिकको ‘ब्ल्याकमेलिङ’ सुमार्गीबाट भण्डाफोर

238

काठमाडौं/ गत सोमबार नेपालका एक सुपरिचित व्यवसायीले काठमाडौंको बानेश्वरस्थित आफ्नै कर्पोरेट हाउसमा पत्रकार सम्मेलन गरे । सञ्चारक्षेत्रका समेत लगानीकर्ता रहेका उक्त व्यवसायीको आरोप थियो, आफूलाई नेपालकै प्रमुख मानिने सञ्चारमाध्यम कान्तिपुर समूहबाट ब्ल्याकमेलिङ गरियो । ती व्यवसायी थिए, मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गी ।
विगत केही वर्षदेखि र पछिल्लो समय निरन्तर रूपमा आफूमाथि एकतर्फी रूपमा कान्तिपुरले भ्रामक समाचार लेखेको भन्दै सुमार्गीले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । उनले कान्तिपुर मिडिया ग्रुपले आफूमाथि लगाएका आरोपहरू खण्डन गर्नुका साथै कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि गम्भीर आरोप लगाएका छन् ।
‘२०७० सालमा कान्तिपुर मिडिया ग्रुपमा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मबीच जग्गा कारोबार भएको तथ्य यहााहरूको जानकारीमा आइसकेको छ । जग्गा कारोबार भएको केही समयलगत्तै ‘सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिाडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन्,’ उनले भने । सोही विषयलाई लिएर आफूमाथि एकतर्फी हमला भइरहेको सुमार्गीको भनाइ छ ।
सुमार्गीले कान्तिपुरको ब्ल्याकमेलिङको विरुद्ध जिल्ला प्रशासन कार्यालयमा गालीबेइज्जतीविरुद्ध निवेदन दिएका छन् भने अदालतमा मुद्दासमेत दर्ता गराएका छन् । सोहीअनुरूप सुमार्गीले सोमबार पत्रकार सम्मेलन नै गरेर आफूलाई कान्तिपुर समूहले ब्ल्याकमेलिङ गरेको आरोप लगाएका हुन् । उनले भने, ‘उपेन्द्रकान्त अर्याल त्यतिबेला आईजीपी भइसकेका थिएनन् । उनले पनि देखेका थिए, कैलाशले मलाई हातमा समातेर एउटा हलमा लग्यो र तपाईंलाई दुई करोडमा हाइज्याक गरेको भन्यो । हाइज्याक गरेको मैले कुरा बुझिना । भोलिपल्ट नेपाल साप्ताहिकमा समाचार आयो, समाचार आएपछि मैले बुझो, मलाई दुई करोडका लागि हाइज्याक गरिएको रहेछ ।’

 
सुमार्गीले आफ्नो विरुद्ध कान्तिपुर समूहमा आबद्ध सम्पूर्ण सञ्चारमाध्यमबाट भ्रामक समाचार प्रकाशित गरेको आरोप लगाएका छन् । उनले भने, ‘द काठ्मान्डु पोस्ट सदस्य रहेको एसिया न्युज नेटवर्कको वेबसाइटमा समेत शीर्षक परिवर्तन गरी गरी भ्रम छर्ने गरेको देखिएको छ । एसिया न्युज नेटवर्क त्यस्तो संस्था हो, जसले लगानीकर्ताहरूलाई एसिया क्षेत्रमा लगानीको अवसर र सम्भाव्यताबारे जानकारी दिने उद्देश्य राख्दछ । कान्तिपुर मिडिया ग्रुपले आफू सदस्य रहेको त्यस्तो संस्थालाई समेत गुमराहमा राखेको छ । मेरा व्यावसायिक फर्ममार्फत नेपालमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत निरुत्साहित गर्ने प्रयत्न गरेको देखिन्छ ।’

 
त्यस्तै, उनले यस प्रकरणमा सञ्चारकर्मी आबद्ध नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिप्रति प्रश्न उठाएका छन् । ‘एक सञ्चार उद्यमीसमेतको नाताले म नेपाल मिडिया सोसाइटीसामु जिज्ञासा राख्न चाहन्छु, एउटा सञ्चार माध्यमको दुरूपयोग गरेर कुनै सञ्चार उद्यमी ब्ल्याकमेलिङ गर्ने तहमा झर्छ भने मिडिया सोसाइटीले त्यसको जिम्मा लिन कसरी मिल्छ ? के सोसाइटीको कुनै एक सदस्यले निजी जीवनमा गर्ने आपराधिक कार्यको जिम्मा लिनु विवेकसम्मत हुन्छ ? म यो ब्ल्याकमेलिङ प्रकरणबारे गम्भीरताका साथ सोच्न मिडिया सोसाइटीका आदरणीय सदस्यहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

 
उनले आफूले वैदेशिक लगानी नेपालमा भित्र्याएर नेपालमा रोजगारी सृजना गरेको तर कान्तिपुरले भने यस्तो लगानी आतंकवादमा लगानी हुनसक्ने भन्दै भ्रम फैलाएको स्पष्ट पारे । ‘विदेशबाट आउने त्यस्तो लगानी आतंककारी क्रियाकलापमा प्रयोग हुन सक्ने’ भन्नेजस्ता निराधार टिप्पणी सम्प्रेषण गर्ने प्रकाशक र सम्पादकलाई म प्रश्न गर्न चाहन्छु, के सिमेन्ट कम्पनी, हाइड्रो, दूरसञ्चार आदिमा लगानी गर्नु आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्नु हो ? वा, नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो ? निज कैलाश सिरोहियाले आफ्नो सञ्चारमाध्यमको दुरूपयोग गरेर मेरो सामाजिक प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएका छन्,’ उनले भने । उनले आफूले पठाएको खण्डनलाई कान्तिपुरले अपांग बनाएर प्रकाशित गरेको दाबी गरे ।

 
उनले अहिले कान्तिपुरलाई केही रकम नजराना नचढाई कुनै व्यवसाय नै सुरुवात गर्न नसकिने अवस्था रहेको आरोप लगाए । कुनै पनि व्यवसायी कान्तिपुरको यस्तो ज्यादतीबारे बोल्न नचाहेको र भोलि आफू पनि समाचार बनिने भनेर डराएको उनले दाबी गरे ।

 
उनले भने, ‘सानै उमेरबाट अनेक हण्डर र ठक्कर खाादै यहाासम्म आइपुगेको मेरो जीवनमा कान्तिपुर ब्ल्याकमेलिङ प्रकरणले केही दिन, केही महिना भ्रम छरे पनि केही वर्षपछि ठूलो अर्थ राख्ने छैन, किनभने सत्यका अघि झूट धेरै समय टिक्दैन, टिक्नै सक्दैन भन्ने मेरो विश्वास छ । यो ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारिता जगतको कालो धब्बाको रूपमा ५०औा वर्षसम्म रहिरहनेछ ।’

 
उनले आफूविरुद्ध आइरहेका सिलसिलेवार मनगढन्ते कथा कहानीहरूबाट कति पनि भ्रममा नपर्न अपिल गरेका छन् । ‘सञ्चारमाध्यमको दुरूपयोग गरी ब्ल्याकमेलिङ गर्ने ती प्रलापहरूबाट अविचलित रहन सरोकारवालाहरूमा पनि आग्रह गर्दछु । राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने मेरो प्रयासमा यस्ता प्रहारहरूले रत्तिभर फरक पर्नेछैन,’ उनले भने ।

 
सुमार्गीको उक्त प्रेस सम्मेलनको अर्को दिन कान्तिपुर मिडिया ग्रूपले प्रेस विज्ञप्ति जारी गरेको छ । कान्तिपुरले सुमार्गीको विरोध गरे पनि आरोपहरूको खण्डनमा उपयुक्त तर्क पेश गर्न सकेको छैन । कान्तिपुरले सुमार्गीको सम्पत्तिलाई वैध रहेको देखाउन चुनौती दिएको छ ।                                        (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here