काठमाडौं/ राजनीतिक दलहरू संविधानसभाबाट जारी गरिएको संविधानलाई कार्यान्वयन गर्न अन्तिम चरणमा पुगेकामात्र नभई आपसमा भिडन्तको अवस्थामा समेत पुगेका छन् । यस्तो अवस्थाले लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता राजनीतिक, सामाजिक परिवर्तनका प्रयासहरू असफल हुने देखिएका छन् । एकातर्फ यस्ता असफलताका संकेतले राजनीतिक दलका नेताहरूको अकर्मण्यतालाई पुष्टि गरिरहेको छ भने गणतन्त्र घोषणा गरिएपछि सामान्य नागरिकका रूपमा जीवन निर्वाह गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जनमानसमा सडकमा उत्रिन थालेका छन् । सुदूर र मध्यपश्चिम क्षेत्रका केही जिल्लाहरूमा पूर्वराजा ज्ञानेन्द्रले भ्रमण गर्ने क्रममा जनस्तरबाट उनको भव्य स्वागत भएको देखियो । ज्ञानेन्द्र जता जान्छन्, उतै उनको जयजयकार भएको देखिंदा पनि राजनीतिक दलहरूमा संविधान कार्यान्वयनको अन्तिम मिति माघ ७ गते नजिक आइरहेकोतर्फ सचेत भएको पाइएन । माघ ७ गतेभित्र नयाा संविधानको कार्यान्वयनका क्रममा भइरहेका सबै प्रयासहरू सम्पन्न भइसक्नुपर्दछ । त्यो अवस्थातर्फ दलहरूको ध्यानाकर्षण छैन ।
माघ ७ गतेभित्र संविधान कार्यान्वयन सम्पन्न नभएमा देश संवैधानिक संकटमा जाने निश्चित छ । राष्ट्रिय सभाको निर्वाचन नभएसम्म संविधान कार्यान्वयन भएको मान्न सकिने छैन । यो स्थितिले संविधानसभाबाट जारी भएको संविधान असफल हुने र मुलुक संवैधानिक संकटमा जाकिने दिन नजिक आइरहेको पुष्टि हुन्छ । माघ ७ गते नजिकिंदै गर्दा अनेक थरिका हल्ला पनि चल्न थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र सोही दिन अर्थात माघ ७ गतेकै दिन नारायणहिटीमा प्रवेश गराउने हल्ला पनि चलाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पुस १४ गते लखनऊमै पुगेर भेट गरेको दृश्य विशेष महत्वका साथ सञ्चारमाध्यमहरूमा प्रकाशित र प्रशारित भएका छन् । तस्बिरसागै भेटवार्ताको समाचारले पनि सञ्चारमाध्यमहरूमा महत्व पाउनुका साथै पूर्वराजा ज्ञानेन्द्रलाई भेट्नुभन्दा पहिले मुख्यमन्त्री योगीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट गरेको समाचार प्रचारमा ल्याइएको छ । नेपालको राजनीतिक अन्योलतासागै संविधान कार्यान्वयन असफलतातर्फ गईरहेकाबेला पूर्वराजावादीहरू पनि संगठित बन्ने क्रम सुरु भएको पाइएको छ ।
(- जनधारणा साप्ताहिक)


















