कांग्रेसमा प्रजातन्त्र समाप्त गरिंदै

120

देउवालाई हटाउने पौडेलको अभियान अल्पमतमा पर्ने भएपछि कांग्रेस संकटमा

काठमाडौं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले पूर्णता नपाउँदै नेपाली कांग्रेसभित्र आन्तरिक कचिंगल उत्कर्षमा पुगेको छ । वाम गठबन्धनको सरकारको निगरानीका लागि छाया सरकार गठन गरी सशक्त प्रतिपक्षी भूमिकामा प्रस्तुत हुनुपर्ने नेपाली कांग्रेस नेतृत्वको होडबाजीमा उत्रिएको छ । संसदीय दलका नेता कोे बन्ने भन्ने सवालमा कांग्रेसी नेताहरूले एकअर्कालाई बदनाम गर्ने कसरत गरिरहेका छन् । यही फागुन २१ गते कांग्रेसले आफ्नो संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेताका लागि सभापति शेरवहादुर देउवाको विजय सुनिश्चित देखिएको छ । तर देउवालाई उम्मेदवार बन्न नदिन पार्टीभित्रबाट ठूलो चलखेल सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई संसदीय दलको नेतामा अगाडि सार्ने तयारी गरेको छ । चुनावी नतिजालाई लिएर कांग्रेसमा देखिएको आन्तरिक विवाद आसन्न संसदीय दलको नेता चयनमा पनि देखिंदै छ । आपसी गुटबन्दी र एमाले–माकेको चुनावी गठबन्धनको कारण चुनावमा पराजय भएको तथ्यलाई तोडमरोड गरी सभापति देउवाको कार्यक्षमता र कार्यशैली नै चुनाव पराजयमा जिम्मेवार रहेको आरोप पौडेलपक्षले लगाएको छ । पौडेलपक्षले यसैलाई मुख्य मुद्दा बनाएर सभापति देउवालाई संसदीय दलको नेताबाट अलग गराउन प्रयास गरिरहेको छ ।
चुनावी समीक्षाका लागि बसेको केन्द्रीय समितिको बैठकमा रामचन्द्र पौडेलले सभापति देउवासँग लिखित रूपमा पाँच पेजको पत्रमार्फत असन्तुष्टि पोखेका छन् । जनाएका थिए । पौडेलको लिखित असन्तुष्टिमा शेरबहादुर देउवा अब कुनै पनि पदका लागि योग्य नहुनेसम्मको आशय उल्लेख गरिएको छ । यो अवस्थाले नेपाली कांग्रेस प्रजातान्त्रिक चुनावी पद्धतिप्रति सचेत छैन भन्ने कुरा छर्लङ्ग पारेको छ ।
पौडेलले आफ्नो पत्रको सुरुवातमै भनेका छन्– ‘देउवाजी, तपाईंको सिङ्गो नेपाली काँग्रेसको सभापति बन्ने इच्छा पूरा भएको छ । दलको नेता पनि चुनिनुभयो । प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ । अब तपाईंले चाहेको सबै पूरा भयो ।’ अगाडि भनिएको छ– ‘दलको नेता र प्रधानमन्त्री बनिसकेकोले सानो समूहको संरक्षक बन्नपट्टी नलागेर सिङ्गो कांग्रेसको नेता बन्न उपयुक्त छ ।’ पौडेलले संसदीय दलको नेतामा देउवालाई पछि पार्न पुरै प्रयास गरेका छन् । देउवाका ‘असफलताको जग टेकेर’ पौडेल पक्ष देउवालाई रोक्न प्रयासरत देखिएको छ ।
पौडेलले विगतको दृष्टान्त दिंदै ०५१ र ०६३ मा तत्कालीन सभापति गिरीजाप्रसाद कोइरालाले शेरवहादुर देउवालाई दलको नेता बनाएको उदाहरण प्रस्तुत गर्दै देउवाले संसदीय दलको नेतामा रुची देखाउन नहुने सुझाव पनि राखेका छन् ।
सम्पन्न चुनावी परिणामले प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षबाट २३ र समानुपातिकबाट ४० सदस्य रहेका छन् । कुल ६३ सांसदमध्ये वहुमत संख्या आफ्नो देउवाको पक्षमां देखिन्छन् । प्रजातान्त्रिक पार्टीको रूपमा चिनिएको नेपाली कांग्रेसभित्र सर्वसम्मति बनाउने प्रयास असफल भएपछि चुनावी प्रक्रियामा जानु स्वाभाविक हुने भए पनि पौडेलपक्षले देउवाको बलियो अवस्था देखेपछि देउवालाई उम्मेदवार नबन्न दवाव दिइरहेको छ ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारलाई पूर्ण नदिंदै आफ्नो राष्ट्रवादी अवधारणा सार्वजनिक गरेका छन् । ओलीले सन् १९५० को नेपाल–भारत असमान सन्धि खारेज गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल र भारत दुई देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, व्यापार, सांस्कृतिक सम्बन्धलगायतका बिषयमा दुई देशका विज्ञ समूहबीच छलफल चलिरहेको अवस्थामा प्रम ओलीको यस्तो अभिव्यक्ति आएको छ । वाम गठबन्धनका प्रधानमन्त्री केपी ओलीबाट आएको यस्तो देशभक्तिपूर्ण अभिव्यक्तिलाई कार्यान्वयन गर्नतर्पm नेपाली कांग्रेस एकढिक्का भई सशक्त दवाव सृजना गर्नुपर्नेमा कांग्रेसले उल्टो बाटो समातेको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।

 
वाम गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै गठबन्धन सरकारका प्रधानमन्त्री केपी ओलीले संघीय समाजवादी फोरम, नेपाललाई समेत सरकारमा सहभागी गराउन कसरत गरेका छन् । फोरमलाई सरकारमा सहभागी गराउन संविधान संशोधनका प्रावधानहरूमा प्रधानमन्त्री ओली सहमत हुने लक्षण देखिएको छ । यो अवस्थाले भने प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडानमा प्रश्न चिन्ह खडा गरिदिएको छ । ओली संविधान संशोधनको प्रावधानलाई समर्थन गर्ने गरी फोरमलाई सरकारमा सामेल गराउन सफल भए भने सरकारमा दुईतिहाइ बहुमतको अवस्था बन्ने निश्चित देखिन्छ । दुईतिहाइ बहुमतले सहज रूपमा संविधान संशोधन गर्न सक्ने भएकाले देशको राजनीति अत्यन्त तरल संकेत भइरहेको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here