चन्द्रप्रकाश बानियाँ
नरेन्द्रभाइ मोदीको सत्तारोहणयता गौहत्याको अभियोगमा भारतका दुर्गम गाउँहरूमा मुस्लिमहरूको निर्मम हत्या भएका घटनाहरू बारम्बार चर्चामा आउने गरेका छन् । धर्मका नाममा हुने मानवहत्याका नृशंस घटनाहरूप्रति मोदीसरकारले आँखा चिम्लने गरेको छ । यता नेपालमा हिन्दूधर्मसापेक्ष राज्यको पक्षमा वातावरण निर्माण गर्नका लागि आफैलाई गोली हनाउने षड्यन्त्र गर्ने श्रीनिवास आचार्यको चर्तिकला पनि यतिखेर चर्चामा छ र कोशी उच्चबाँधको समझदारी गरेको भनेर शेरबहादुर देउवाको खोइरो खनेर खाँटी राष्ट्रवादीको पगरी गुथ्ने नौटंकीको सफल प्रदर्शन गरेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको चर्तिकलाको मुकुण्डो पनि यतिखेर नराम्रोसँग च्यातिएको छ । विचित्र संयोग के भएको छ भने ती तीनै जना उच्चकोटीका विदूषकहरूको जमघटले यो हप्ता नेपालको दुई नम्बर प्रदेश रङ्गियो ! राष्ट्रिय अन्तर्राष्ट्रिय अब्बल दर्जाका विदूषकहरू यसरी एकै ठाउँमा जम्मा हुने संयोग जुर्नु सामान्य घटना हो भन्न मिल्दैन । निश्चय नै दुई नम्बर प्रदेशका भाग्यमानी नेपालीहरूले एकैसाथ तीन तीन जना महान् विदूषकहरूको दिव्य प्रहसन एउटै मञ्चमा देख्न हेर्न नपाए पनि उनीहरूको दर्शन एकै समयमा गर्न पाउँदा धन्य भएका छन् !
दामोदरदास नरेन्द्रभाइ मोदीको राजनीतिक उन्नतिको प्रथम खुड्किलो उनकै प्रथम मुख्यमन्त्रीकालमा मञ्चन गरिएको मुस्लिम समुदायको आमहत्या थियो । गुजरातको त्यो आमहत्या काण्डले उनलाई डाम्न नसकेको मात्र होइन, त्यो उनका लागि वरदानसिद्ध भैदियो । एकपछि अर्को राजनीतिक सफलताको सिंढी चढाउने साधन बन्यो । हत्याकाण्ड मोदीका लागि फलिफाप सिद्ध भयो । बाबरी मस्जिदकाण्डले एकीकृत गर्न नसकेको हिन्दूहरूको साम्प्रदायिक मत मोदीको नामले डोलायो । किनकि त्यत्रो हत्याकाण्ड मच्चाएर पनि अदालती सजायबाट जोगिएका मोदीलाई हिन्दूसमाजले असली नायक ठह¥यायो । मोदीको बलियो काँध हिन्दूत्वको झण्डा उठाउन सक्षम ठहरिएको हुनाले नै दिल्ली अयोध्या रथयात्रा गरेर बाबरीमस्जिद काण्डको पृष्ठभूमि तयार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका लालकृष्ण आडवानीले गर्न नसकेको चमत्कार मोदीले गरेर देखाउन सकेका हुन् भन्नु अत्युक्ति हुँदैन । आडवानीलाई भारतीय हिन्दूसमाजले पत्याउन सकेन । किनकि उनले बाबरी मस्जिद भत्काउने वातावरण त बनाए तर गैरहिन्दूहरूको कत्लेआम गरेर मोदीलेजस्तो बहादुरी प्रदर्शन गर्न सकेका थिएनन् । वास्तवमा मोदीमा रहेको आवश्यक पर्दा धर्मको नाममा हत्याहिंसा मच्चाउन सक्ने खुबीलाई भारतीय हिन्दूहरूको आशिर्वाद मिलेको हो । विडम्बना कस्तो रहेको छ भने अहिलेसम्म पनि गौरक्षाको नाममा कैयौं गैरहिन्दूहरूको जघन्य हत्या गर्ने अभियान गाउँकन्दराहरूतिर चलिरहेकै छ । भीडले गरेको अपराधको नाममा आततायीहरू कानुनको घेरामा पर्नबाट जोगिँदै आएका छन् । अर्थात् नियतवश हत्याराहरूलाई जोगाइएको छ । गौरक्षको नाममा मानिस मार्ने अपराधीहरूलाई ‘घरबार त्यागेर प्राव्रज्य लिएका’ मोदीको शासनमा दण्डित होइन, सुरक्षा दिइएको छ । यतिखेर सम्पन्न भएको उनै मोदीको मुक्तिनाथदेखि जनकपुरसम्मको यात्राको उद्देश्य कतै धार्मिक विषाणुको बीजारोपण त होइन भनेर शंका उब्जनु अस्वाभाविक हुँदैन ।
अर्को एउटा धर्मरक्षाको प्रयत्नको विचित्र र सुन्दर घटना यसैपटक मञ्चन भएको छ । मोदी यात्रासँग त्यसको प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध छ छैन भनेर भन्न त सकिँदैन । तर घटनाको योजना निर्माणमा मोदीबाट प्रभावितहरूको हात छैन भन्न मिल्दैन । भगवा वस्त्रधारी मोदीले जनकपुर भ्रमण गर्ने अवसरको पूर्वसन्ध्यामा नेपालका अर्का महान् योगीले आफ्नै अङ्गगरक्षहरूबाट आफैलाई गोली हान्न लगाएर धर्मरक्षणको महान् अनुष्ठान सम्पन्न गरेका छन् । पुष्टि भैनसकेको भए पनि त्यस्तो आरोपमा श्रीनिवास आचार्य गिरफ्तार भएका छन् । पूर्वराजा ज्ञानेन्द्रसँग समेत गोप्य मन्त्रणा गरेका कथित धर्माधिकारी आचार्यको चर्तिकलाभित्र देशमा धार्मिक साम्प्रदायिक हिंसाको आगो दन्काउने षड्यन्त्र रहेछ भन्ने अनुमान भने सर्वत्र गरिएको छ । राजाको धार्मिक भ्रमण, आचार्यमाथि गोली प्रहार र मोदीको धार्मिक यात्राबीच तालमेल थिएन होला त ?
काठमाडौंका घरघरका चुलचौकासम्म ग्यासको पाइपलाइन जोड्ने तिलस्मी योजना व्यवहारमा सम्भव रहेनछ भन्ने दिव्यज्ञान हाम्रा महान् स्वप्नदर्शी प्रधानमन्त्रीलाई अब त राम्रैसँग भैसकेको हुनुपर्छ । त्यसैले होला दोस्रोपटक सत्तारुढ भएको तीन महिना तुरिन लाग्दा समेत त्यसबारेमा मुख खोलेको सुनिएका छैन । तर प्रशान्त महासागरमा चन्द्रसूर्य अंकित झण्डा फहराउँदै पानी जहाज कुदाउने सनकलाई भने कार्यरूप दिने प्रयत्नमा उनी दिलोज्यानले लागेका रहेछन् भन्ने कुरा उनको पछिल्लो भारतभ्रमणको सन्दर्भ ‘कोशी उच्चबाँध’ परियोजना अघि बढाउने समझदारी दिल्लीमा भएको रहेछ भन्ने कुरा ‘सगरमाथाको देशलाई सागरसँग जोड्ने’ मोदी उद्घोषले प्रमाणित गरिदिएको थियो ।
कोशी उच्चबाँध परियोजना नेपालको पूर्वी तराईको लागि ‘टाउको माथि झुण्डिएको नाङ्गो तरबार’ सावित हुनेछ । प्राकृतिक दुर्घटनाहरू मानिसको शक्तिसामथ्र्यभन्दा बाहिरका विषय हुन् । भूकम्प, बाढी, पहिरोे, आगलागी र सुखाले सालिन्दै नेपालमा अकल्पनीय खति पु¥याउने गरेका छन् । तर कोशी उच्चबाँधबाट निम्तनसक्ने खतरालाई प्राकृतिक प्रकोपको समकक्षमा राख्न मिल्दैन । त्यो त जानी जानी काल निम्त्याउने कुरा हो । नेपालको उन्नति, प्रगति र समृद्धिको सपना पूरा गर्न उपलब्ध प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गर्नै पर्छ । त्यसमध्ये पानी नेपालको सबभन्दा ठूलो सम्भावनाको स्रोत हो । पानीको बहुमुखी उपयोग गर्नै पर्छ । तर बहुमखी उपयोगको नाममा आधा नेपाललाई सधंै खतरामा धकेल्नु बुद्धिमानी हुन्छ भन्न सकिँदैन । आयात निर्यात सहजीकरणको लागि पानी जहाज चलाउनै पर्ने अनिवार्य बाध्यता हो कि होइन भनेर काम थाल्नुपूर्व हजारपटक सोच्नुपर्छ । पानीजहाजबाट गरिने आयात निर्यातबाट प्राप्त हुने प्रतिफललाई पानी र विद्युत्को उपयोगबाट प्रतिस्थापना गर्न सकिन्छ कि भनेर सोचविचारै नगरी अकल्पनीय विनाशको सम्भावना निम्त्याउनु कुनै दृष्टिकोणबाट राम्रो मान्न सकिन्न ।
यसै साता कान्तिपुर टेलिभिजनसंगको सम्वादमा पुष्पलाल लोकमार्ग निर्माण आयोजनाका एकजना जिम्मेवार अधिकारीले ओलीको पहिलो प्रधानमन्त्रीकालमै मध्यपहाडी राजमार्गको ‘अलाइन्मेन्ट कोशी उच्चबाँधको कारणबाट डुबानमा पर्ने सम्भावित क्षेत्रभन्दा माथि गर्नु’ भन्ने आदेश भएको थियो भन्ने कुराको खुलासा गरेका थिए । अर्थात् जसरी महाकाली सुम्पन माधव नेपालको भारतभ्रमणदेखि नै अनेकौं नौटंकी, योजना र षड्यन्त्र गरिएको थियो त्यस्तै धम्मरधुस प्रयत्न कोशी उच्चबाँधको सम्बन्ध पनि गर्नथालेको धेरै भइसकेको रहेछ र संसदको रोष्टमबाट गरिएको देउवाको आलोचना एउटा नौटंकी मात्र रहेछ भन्ने कुरा यो घटनाले पुष्टि गरिदिएको छ ।
यसपटकको ओलीमोदीबीचको भ्रमण आदानप्रदान ओलीराष्ट्रवाद स्खलनको नमूना बन्न गएको कुरा यथार्थ हो । अघिल्लो कार्यकालमा हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङमुक्त गर्ने योजना हावामै उडेपछि अवसर मिल्यो भने कमसेकम पानीजहाज चलाएरै छोड्ने अठोट लिइएको रहेछ । देशलाई घाटानाफा जेसुकै होस्, आफ्नो धोको पु¥याउने उद्देश्यबाट कोशी उच्चबाँध योजना कार्यान्वयनलाई अघि बढाउने निर्णय लिने पूर्वयोजना रहेछ । पछिल्लो भारतीय नाकाबन्दीको विरोध हुनु स्वाभाविक थियो तर बेलैमा नाकबन्दीको समस्या सल्ट्याउने जिम्मेवारी सरकारको हो भनेर क्ूटनीतिक प्रयत्न गर्ने आवश्यक नदेदिएकै हो । त्यसमा पनि देशको हितकल्याणभन्दा आफ्नो नितान्त व्यक्तिगत तुजुकलाई बढी महत्व दिइएको कुरा प्रमुख कारण रहेछ ।
कल्पना गर्नु एउटा कुरा हो, कार्यान्वयन गर्ने कुरा दोस्रो हो । कोशी उच्चबाँधको योजना सम्पन्न भएपछि बंगालको खाडीदेखि चतरासम्म पानी जहाज चलाउने सपना देख्नु अस्वाभाविक नहोला तर त्यसबाट निम्तन सक्ने खतरालाई देखान्देखी गर्नु हददर्जाको गैरजिम्मेवारपन हो । यदि योजना कार्यान्वयन हुने नै भएछ भने पनि आफ्नो आँखाले देख्न पाइने होइन भने किन व्यर्थैमा अकल्पनीय दुर्घटना निम्तने सम्भावनाको त्रास मुलुकलाई बोकाउने भन्ने सदाशय हाम्रो प्रधानमन्त्रीले राख्लान भनेर भरोसा गर्न सकिँदैन । जसरी नाकाबन्दीलाई आफ्नो राष्ट्रवादी छवि उजिल्याउने स्वार्थको लागि प्रयोग गरिएको थियो त्यसैगरी आफू मरेर गए पनि आफ्नो बोली पूरा भए पुगिगो ! फलानोले त सपना देखेको थियो भनेर मुुलुकले सम्झिदिए पुग्यो । ‘मरिचमान कम्प्लेक्स’बाट ग्रसित भए पछि गर्न हुने नहुने कामको सीमा छुट्याउने सामथ्र्य लुप्त हुँदो रहेछ कि ? अथवा स्वार्थन्धता भनेको त्यही हो कुन्नी ?!
(- जनधारणा साप्ताहिक)
















