काठमाडौं / एक लाखको संख्यामा नेपाली सेना रहेको हाम्रो देशमा छिमेकी देश भारतका सेनाले सैनिक गस्ती गरिरहेको दृश्य देशभक्त नेपालीहरूलाई पटक्कै मन परेको छैन । तैपनि नेपाली सेना मौन छ । भोलि वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति भारतीय सुरक्षाकर्मीको चासो बढेको छ । त्यसैले भारतीय वायुसेनाले नेपाल प्रवेश गरेको छ । मोदीको भ्रमणका लागि सुरक्षा अवस्था बुझ्न भारतीय वायुसेनाको विमानले जनकपुरको आकाशमा एक किसिमको आतंक मच्चाइरहेको छ । धार्मिक भ्रमणको नाम दिइएको मोदीको यो भ्रमण किन यति असुरक्षित महसुस ग¥यो भारतले ? यो प्रश्न प्रत्येक नेपाली जनमानसमा उब्जिएको छ । पहिलोपटक नेपाल भ्रमणमा आउँदा सडकमै उत्रिएर जनसाधारणसँग हात मिलाउन तत्पर रहेका भारतीय प्रधानमन्त्री मोदीलाई यसपटकको नेपाल भ्रमण किन यति सुरक्षित महसुस गराएको छ । धार्मिक भ्रमण त झन् सुरक्षित मानिनुपर्ने हो । तैपनि किन असुरक्षित मानिएको छ र नेपालको आकाशमा आफ्नै देशको सैन्य गस्ती गराएर आफ्नो सुरक्षा गर्न खोजिएको छ ? प्रधानमन्त्री मोदीले जनकपुर, मुक्तिनाथ र काठमाडौंसम्मको रुटमा भारतीय सुरक्षा गस्तीलाई तीव्र बनाउने बुझिएको छ । यो स्थिति नेपालको सुरक्षा निकायका निम्ति लज्जाजनक हो ।
(- जनधारणा साप्ताहिक)


















