काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला मोदी र प्रधानमन्त्री केपी ओलीले संयुक्त रूपमा काठमाडौंबाट ‘स्वीचअन’ गरी शिलान्यास गरिएको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ । पूर्वी नेपालको जिल्ला संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा मंगलबार राति सकेट बम प्रहार भएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले भारतलाई निर्माण गर्न सुम्पिएको सो आयोजनाको कार्यालयनजिकै बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी गराएको छ ।
कार्यालयमा के कति क्षति भयो भन्नेबारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । गत मंगलबार राति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएका थिए । उक्त आयोजनाको गत वैशाख २८ गते उद्घाटन भएको थियो ।
देशको निकै मूल्यवान आयोजनाका रूपमा लिइएको यस आयोजनाबाट ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी नेपाल सरकारले भारतलाई हस्तान्तरण गरेको छ । बिना लगानी सित्तैमा भारतलाई दिएर नेपाल सरकारले ठूलो राष्ट्रघात गरेको भन्दै बुद्धिजीवीहरूले सरकारको आलोचना गर्दै आएका छन् । विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपालगायतका वामपन्थी पार्टीहरूले अरूण तेस्रो सम्झौता भारतसँग गर्दा ठूलो राष्ट्रघात भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।
(- जनधारणा साप्ताहिक)


















