ओलीको कार्यशैली पूर्वराजा ज्ञानेन्द्रपथमा

324

राजतन्त्रविरुद्ध बनेको गठबन्धनजस्तै ओली सरकार विरुद्ध खडा हु“दैछ गठबन्धन

काठमाडौं / कहिलेकाहीँ परिस्थिति यस्तो बनिदिन्छ कि समय र जनताको माग अनुसार आफूलाई नढालेर म नै सत्ता वा शक्ति मैै हुँ भन्ने अहमता मानिसमा जन्मिदा आफू अनुकुल भएका हरेक परिस्थिति प्रतिकुल हुन जान्छन् । हो, व्यक्तिमा महत्वकांक्षा हुन्छ र हुनुपनि पर्छ । तर जब त्यो महत्वकांक्षालाई गलत तरिकाले प्रयोग गरिन्छ, आफ्नै छायाँले पनि मानिसलाई साथ दिन छोड्छ । यस्तै देखिएको छ प्रधानमन्त्री केपी ओलीको कार्यशैली ।

 

केही समय पहिलेसम्म राष्ट्रवादी, विकास र समृद्धि पर्यायका रूपमा जनताले हेर्ने गरेका प्रधानमन्त्री केपी ओली सत्ता पुगेपछि विस्तारै पछिल्लो समयमा प्राप्त गरेको लोकप्रियता र उनी अनुकूल रहेका हरेक परिस्थिति प्रतिकुल हुँदै गएका छन् । हुन त इतिहासको कुनै कालखण्डमा केपी ओली एउटा विवादित पात्रका रूपमा मात्र चिनिन्थे, खासगरी महाकाली सन्धि गर्दाका समयमा । तर भारतीय नाकाबन्दी पछि नौ महिना सरकारको नेतृत्व गर्दा उनले लिएका कतिपय अडान र सकारात्मक प्रचारले उनीप्रतिको पुरानो धारणा परिवर्तन भएर उनले नयाँ छवी बनाउन सफल भएका थिए । त्यही छवीले वर्तमान दुई तिहाई सरकारको सत्तारोहण गर्न सफल ओलीले दोस्रो कार्यकालमा देखाइरहेको बहुरूपी चरित्रले उनीप्रतिको निष्ठा र आस्था विस्तारै भंग हुन थालेको मात्र होइन उनीविरुद्ध संगठित हुन अरु सबैलाई वातावरण बन्दै गइरहेको छ ।
हुन त नेपालमा राजतन्त्रको इतिहास धेरै लामो हो, विभिन्न कालखण्डमा राजसंस्थाका कारण जनताले दुःख कष्ट भोगेपनि राजतन्त्र वा राजसंस्थाप्रतिको जनताको मोह भंग भएको थिएन । तर जब २०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्रको बंश नाश हुने गरी हत्याकाण्ड भयो, त्यसपछि सत्तामा आएका माइला भाइ ज्ञानेन्द्र शाहको कार्यशैलीले राजतन्त्रप्रतिको मोह भंग मात्र भएन नेपालबाट सदाका लागि राजतन्त्र अन्त्य पनि भयो । भन्नुको अर्थ शक्तिमा हुँदैमा व्यक्ति वा संस्था पनि बलियो हुन्छ भन्ने हुँदैन । त्यसको ज्वलन्त उदाहरण पूर्व राजा ज्ञानेन्द्र र राजसंस्था हो । ज्ञानेन्द्रको कार्यशैलीले उनको गद्दी कमजोर मात्र भएन उखेलियो पनि । सायद तत्कालीन राजा ज्ञानेन्द्रलाई सत्ताको भोग नचढ्दो हो र जनताका हितका लागि काम गर्दा हुन् त न ज्ञानेन्द्रको राजगद्दी कमजोर हुन्थ्यो न राजतन्त्र नै समाप्त हुन्थ्यो । ज्ञानेन्द्रका प्रतिकुल कामले नै सत्ताधारी दलहरू सबै किसिमका आपसी विवादलाई तोडेर एकजुट भए र ज्ञानेन्द्रको कुर्सीमाथि धावा बोले । त्यतीबेला ज्ञानेन्द्रले सोचेका समेत थिएनन् कि आफै कार्यकारी भएर दलमाथी नियन्त्रण गरेपछि कसले सत्ता हल्लाउने ? ज्ञानेन्द्रको त्यही भ्रम नै उनका लागि अभिसाप बन्न गयो ।
हाल प्रधानमन्त्री केपी ओलीबाट त्यही शैली पुनरावृत्ति भइरहेको छ । उनी आफूसँग दुई तिहाइको सरकार रहेको दम्भ सहित अन्य राजनीतिक दलमाथि नियन्त्रण र हस्तक्षेपको नीति नै अवलम्बन गरिरहेका छन् । जनताको हितमा कुनै काम गरिरहनुपर्ने आवश्यकताबोध उनलाई भएको पाईदैन । बरु आफैले जनपक्षीय काम गर्ने भनि जनाइएका प्रतिबद्धताबाट एकपछि अर्काे गर्दै पछि हट्दै गएका छन् । हिजो आफूले आन्दोलनका बेला प्रयोग गरेका प्रदर्शनीस्थललाई निषेधित क्षेत्रमा परिणत गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप मात्र होइन विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलमाथि बिनाकुनै कारण धडपकड र दमनमा उत्रिरहेका छन् । उनको यो कार्यशैलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहको छनक दिइरहेको छ ।

 

पूर्वराजा ज्ञानेन्द्र शाहले पछि आफैले पनि स्वीकार गरेको एउटा गल्ती थियो, उनी आफ्ना खोपी वरिपरिका मानिसका मात्र कुरा सुन्थे । आज प्रधानमन्त्री ओलीको अवस्था पनि ज्ञानेन्द्रकै जस्तै देखिएको छ । उनी बाहिर जनताले के चाहेका छन् भन्दा पनि आफ्नो आसपासकाले के भनिरहेका छन् भन्ने कुरामा विश्वास गरिरहेका छन् । परिणाम ओली अलोकप्रिय मात्र बनिरहेका छैनन्, उनी विरुद्ध विस्तारै सरकार बाहिर रहेका राजनीतिक दल तथा नागरिक समाज र अन्य दवाव समूहसमेत एकजुट बन्दै गइरहेका छन् । राजा ज्ञानेन्द्रको शासनका बेला पनि राजतन्त्र विरुद्धको माओल यसरी नै तयार हुँदै गएको थियो । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमात्र नभएर नागरिक समाजका अगुवादेखि सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीहरू समेत ओली नेतृत्वको सरकार विरुद्ध गठबन्धनको वातावरण बनाइरहेका छन् । यदि ओलीको यस्तै रवैयाले निरन्तरता पायो र जनताका मागलाई सम्बोधन गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि हावादारी गफ मात्र गर्दै गएमा यसले ओलीको लोकप्रियता सकिने मात्र होइन, पूर्वराजा ज्ञानेन्द्रकै शैलीमा ओलीको सत्ताले पनि घुँडा टेक्नुपर्ने अवस्था सिर्जना हुनेछ ।

 

इतिहासको कालखण्ड हेर्ने हो भने धेरै शाषकमा तानाशाह बन्ने भूत सवार हुन्छ । तर जनताको शक्तिका सामु त्यस्ता तानाशाह निरिह हुनुको विकल्प हुँदैन । यो विषयमा प्रधानमन्त्री ओलीले समयमै बुझ्दा राम्रो हुन्छ । ओलीले सत्तामा रहँदा राम्रो काम गर्न सकेको खण्डमा अर्काे एक दशक शासनको बागडोर कम्युनिष्टकै हातमा हुने निश्चित छ, तर ओलीले वर्तमान समयमा दुई तिहाई सरकारको मातमा देखाइरहेको अहमताले कम्युनिस्ट सरकारको भविष्य धेरै पर जाने देखिदैन । किनभने कम्युनिष्टहरूले नेपालमा पटक–पटक सरकारको नेतृत्व गरेका छन् । तर उनीहरूको सधै एउटै तर्क हुने गरेको छ, ‘बहुुुमतको कम्युनिष्ट सरकार नभएकाले जनमुखी काम गर्न नसकिएको हो ।’ तर वर्तमान सरकारसामु कुनै बहाना वा नाटक गर्ने छुट छैन । त्यो विषमा जानकार हुँदाहुँदै पनि ओलीमा सत्ताको दम्भ हुनु दुःखको कुरा हो । त्यसैले ओलीले आफ्ना कमजोरीलाई सच्याउँदै जनपक्षीय काम गर्नेतर्फ अग्रसर नभएमा पुर्वराजा ज्ञानेन्द्रको हविगत हुनबाट ओलीलाई कसैले रोक्न सक्ने छैन र यसको नजिता ज्ञानेन्द्रका कारण राजतन्त्र गएजस्तै ओलीका कारण नेपालका कम्युनिस्टहरूको भविष्य समेत अन्योल र अन्धकार हुने खतरा देखिन्छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here