जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठजनाको शव निकालिएको छ भने एकजना अझैं बेपत्ता प्रहरीले जनाएको छ । त्यस्तै एकजनाको जीवितै उद्धार गरिएको छ ।
भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ। मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार , ३ वर्षीया मनिसा परियार,१३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियार रहेका छन्। त्यसैगरी नलगाड १ डाँडागाउँका १० वर्षीय दशरथ परियारको मृत्यु भएको छ भने सोही गाउँका ८ वर्षीय गोविन्द परिवार बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको जनाइएको छ । बिहानैदेखि प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् । पुरिएको घर पन्छाएर खोजी कार्य भइरहेको छ । पानी परिरहेको अप्ठेरो ठाउँ र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धारमा खटिएका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिएका छन् ।

















