राज्यलक्ष्मी शाक्य
नेपालमा औद्योगिक विकासलाई हेर्ने हो भने त्यति सकारात्मक पाउन सक्ने अवस्था छैन । विगतमा राजनीतिक अस्थिरता, बन्द, हडताल, लोडसेडिङ जस्ता समस्याका कारण पनि औद्योगिक क्षेत्रमा आशातित रूपमा लगानी हुन सकेको छैन । विगत केही वर्षमा सञ्चालित उद्योगहरू पनि बन्द भए । तर, पछिल्लो समय भने सरकार स्थिर भएसँगै औद्योगिक क्षेत्रतर्फ आकर्षण बढेको छ ।
कुनै पनि मुलुकको विकासमा त्यस देशको औद्योगिक क्षेत्रको ठूलो भूमिका रहेको हुन्छ । उद्योगको विकासले नै अन्य क्षेत्रको पनि विकासमा टेवा पु¥याएको हुन्छ । देशको कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका रहने विभिन्न क्षेत्रमध्ये उद्योग क्षेत्र पनि एक हो । संसारका धेरै देशमा औद्योगिक क्रान्तिपछि त्यस देशको विकासले गति लिएको पाइन्छ । एउटा उद्योगले किसानदेखि थुपै्र व्यक्तिहरूलाई रोजगारीको सृजना गरेको हुन्छ भने उत्पादनबाट आन्तरिक बजार चलायमान बनाइरहेको हुन्छ । यदि उद्योगबाट उत्पादित वस्तु विदेशमा पनि निर्यात हुन्छ भने त्यसले मुलुकको व्यापारघाटा न्यूनीकरणमा पनि ठूलो सहयोग पु¥याउँछ ।
तर, नेपालमा औद्योगिक विकासलाई हेर्ने हो भने त्यति सकारात्मक पाउन सक्ने अवस्था छैन । विगतमा राजनीतिक अस्थिरता, बन्द, हडताल, लोडसेडिङ जस्ता समस्याका कारण पनि औद्योगिक क्षेत्रमा आशातित रूपमा लगानी हुन सकेको छैन । विगत केही वर्षमा सञ्चालित उद्योगहरू पनि बन्द भए । तर, पछिल्लो समय भने सरकार स्थिर भएसँगै औद्योगिक क्षेत्रतर्फ आकर्षण बढेको छ । जस्तै ः हालै मात्र सरकारले विभिन्न कारणवश बन्द भएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन दिएको हो ।
समितिका अनुसार करिब ३० करोड खर्च गर्दा उद्योग फेरि सञ्चालनमा ल्याउन सकिने निष्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ । प्रतिवेदनले उद्योग चलाउन विभिन्न मोडालिटी पनि प्रस्ताव गरेको छ । जसमा सेनाको एकल लगानीदेखि सरकारको र सेनाको संयुक्त लगानीसम्मका मोडालिटी छन् । उद्योग चलाउने निर्णय गर्न अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदबाट निर्णय भएमा उद्योग सञ्चालनको तयारी सुरु हुने जनाइएको छ ।
सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५÷३६ देखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमै ठूलो कपडा उत्पादक रहेको यो उद्योग लामो समयसम्म नाफामा सञ्चालन भएको थियो । तर, राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण बन्द भएको थियो ।
त्यस्तै, पछिल्लो समय प्रदेश नं. २ लगानीको हब बनेको समाचार आइरहेको छ । एक वर्षको अवधिमा प्रदेश २ मा १९ अर्बभन्दा बढीको लगानी भित्रिएको जनाइएको छ । उद्योग विभागका अनुसार गत वर्ष प्रदेश २ अन्तर्गतका ८ जिल्लामा कूल १९ अर्ब ६७ लाख रूपैयाँ बराबरको लगानीका नयाँ उद्योगहरू विभागमा दर्ता भएका छन् । साना–ठूला गरी कूल २३ वटा नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशअन्तर्गत सबैभन्दा ठूलो नयाँ उद्योग सिराहामा रहेको र सौर्य सिमेन्टबाट १३ अर्ब ६० करोड रूपैयाँको लगानी भित्रिएको जनाइएको छ ।
बारा र पर्सा जिल्लाका ५ वटा उद्योगमार्फत शत प्रतिशत विदेशी लगानी भित्रिएको छ । चीनियाँ लगानीकर्ताले छाला, सिन्थेटिक रेग्जिन, रुफिङ्ग टायल्स र इलेक्ट्रिक रिक्सा उत्पादन गर्ने उद्योग दर्ता गराएको जनाइएको छ । यी यस्ता खबरले पक्कै पनि सुखद भविष्यतर्फ संकेत गरिरहेको छ । मुलुकमा औद्योगिक क्षेत्रको विकास हुने, कृषि उत्पादनको यहीँ प्रयोग हुने र उचित भाउ पाउने, रोजगारीको अवस्था सृजना हुने, आत्मनिर्भर र निर्यातमा सघाउने पुग्ने हो भने अवश्य नै सरकारले सोचेअनुरूप अर्थतन्त्र बढ्न सक्छ । तर, सरकारले सर्वप्रथम यही वातावरण कायम राखिराख्न जरुरी छ । औद्योगिक क्षेत्रलाई आवश्यक सबै पूर्वाधारको उपलब्धता गराइराख्नु सरकारलाई चुनौती हुनेछ ।
[email protected]
जनधारणा साप्ताहिक
















