राज्यलक्ष्मी शाक्य
नेपाली नारीहरूको महान् चाड हरितालिका तीज हिजोमात्र सम्पन्न भएको छ । अस्ति दर खाएर हिजोका लागि व्रत बस्न महिलाहरू तयार भए । हरितालिका तीज धार्मिक मान्यता बोकको चाड हो । यस चाडलाई विशेषगरी हिन्दू महिलाहरूले मनाउँदै आएका छन् । तर, यो विशुद्ध नेपाली चाडपर्व बनेको छ । किनभने भारतमा हिन्दू महिलाहरूले तीज मनाउँदैनन् । तर, नेपालमा भने अन्य जातजाति र धर्मका महिला पनि तीजको अवसरमा व्रत बस्ने तथा सहभागी हुँदै आएका छन् । यस पर्वसँग धार्मिक आस्था पनि जोडिएको छ । विशेषगरी महिलाहरूले आफ्नो सौभाग्यका लागि यो पर्व मनाउँछन् । भदौ महिनाको शुक्लपक्षको द्वितीया तिथिको रातमा दर खाइन्छ भने भोलिपल्ट तृतीयामा निराहार व्रत बस्ने गरिन्छ ।
सो दिन भगवान् शिव र पार्वतीको आस्था मान्नेहरुबाट पूजाआजा गरिन्छ । भनिन्छ, परापूर्वकालमा पार्वतीले शिव पति पाऊँ भन्दै व्रत बसिन् रे ! पछि उनले शिव पति पाएपछि सोही दिनमा हरितालिका तीज पर्व मनाउन सुरु गरिएको हिन्दू शास्त्रहरूमा वर्णित छ । त्यसकारण यस अवसरमा व्रत बसे आफ्नो मनले चिताएको पुग्ने विश्वास गरिन्छ । त्यस्तै हरितालिका तीजको भोलिपल्ट लोमश ऋषिलाई अर्घ दिँदै व्रतको उद्यापन गरिन्छ । त्यसपछि मात्र भोजन ग्रहण गर्ने चलन छ । त्यसको भोलिपल्ट आफ्नो घरनजिक पायक पर्ने नदी, तलाउ आदिमा गई ३६५ दतिवनले दन्तमञ्जन गरेर स्नान गरिन्छ भने अरुन्धतीसहित सप्तर्षिहरूको पूजाआजा गरिन्छ । यो अवसरमा आफूले वर्षभरि रजस्वलाको क्रममा कुनै अपवित्र काम हुन गएको भए त्यो क्षम्य हुने विश्वासले पूजा गरिन्छ भन्ने मान्यता छ ।
तीजको धार्मिक आस्थासँगै सामाजिक मान्यता पनि रहेको छ । विशेषगरी नेपाली परिवेशमा नारीहरू विवाह गरेर पुरुषको घरमा जाने चलन छ । त्यसकारण आफ्नो माइतमा आउनका लागि पहिले पहिले तीज नै कुर्नुपर्ने अवस्था थियो । त्यो बेला तीजमा माइत आउने र आफ्नो सुखदुःखका कुरा तीज गीतमार्फत अभिव्यक्त गर्ने प्रचलन रहेको थियो । यो पर्वलाई आफ्नो माइतीसँग भेटघाट, साथीसँगको सुखदुःखको अनुभव साटासाट गर्ने माध्यमका रूपमा लिने गरिन्छ । यद्यपि, अहिले तीजका गीतमा पहिलेको जस्तो मीठास भने पाउन छोडिएको छ । अझ क्षणिक चर्चाका लागि छाडा शब्दहरूको प्रयोग गर्न थालिएको छ । यस्तो विकृति आउनुमा दोष कसको हो ? सबै महिला वर्ग तथा सम्बन्धित संघसंस्था सचेत बन्नुपर्ने भएको छ ।
तीजमा व्रत बस्नु शारीरिक स्वस्थताका हिसाबले पनि राम्रो हुने चिकित्सकहरूको धारणा छ । हप्तामा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि राम्रो स्वास्थ्यविज्ञहरू नै सुनाउँछन् । त्यसैले तीजमा व्रत बस्नाले महिलाको स्वास्थ्यलाई पनि फाइदा पुग्छ भन्ने स्पष्ट हुन्छ । तर, व्रत बस्दै गर्दा आफ्नो खानपान तथा स्वास्थ्य अवस्थाका बारेमा पनि महिलाहरूले ध्यान दिन आवश्यक छ । विशेषगरी आफ्नो श्रीमान्को आयु वृद्धि होस् भन्ने मनोकांक्षाका साथ व्रत बस्ने महिलाहरूले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । निराहार व्रत बस्ने भन्दै लामो समय पानी नपिएर बस्दा स्वास्थ्यलाई नोक्सानी पुग्ने हुन्छ । यसबारेमा महिलाहरूले सोच्न आवश्यक छ । त्यस्तै, आफ्नो स्वास्थ्य कस्तो छ ? व्रत बस्दा कुनै असर पर्छ कि पर्दैन ? यस्ता कुराको ख्याल महिला स्वयंले गर्नुपर्छ । समग्रमा महिलाले व्रत बस्दा, तीज पर्व मनाइरहँदा आफ्नो स्वास्थ्यलाई विचार गरी रमाइलो गरी मनाउनु आवश्यक छ । यस वर्षको तीजले जुन भड्किलोपन देखायो यसलाई सच्याउनतर्पm लाग्न पनि जरुरी छ । [email protected]
जनधारणा साप्ताहिक
















