काठमाडौँ, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने चीन भ्रमण सम्पन्न गरी बुधबार राती स्वदेश फर्किएका छन् । स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिए ।
अध्यक्ष दाहालले पछिल्लो समयमा दुवै देशमा सकारात्मक वातावरण रहेको विषयमा चिनियाँ नेता र हाम्रो बीचमा समान समझदारी देखिएको बताउँदै भने, “दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।”
अध्यक्ष दाहालले भने, , “चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन भई नयाँ नीति निर्माण भएको, ‘सि जिङ फिङ विचार’ लाई संश्लेषण गरेको र आउने सन् २०५० सम्म चीनलाई विश्वकै बलियो समाजवादी राष्ट्रका रुपमा विकसित गर्ने उद्देश्य खडा भइ सकारात्मक वातावरण बनेको छ भने नेपालमा पनि दुई ठूला पार्टीको बीचमा एकता भएर दुईतिहाई बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार र पार्टीले समृद्धि र विकासलाई मुख्य कार्यसूची बनाएको छ ।”
भ्रमणका क्रममा आफूले चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रुपमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा सौहार्दपूर्ण तवरले विचार विमर्श भएको बताए ।


















