काठमाडौं / यौनजन्य अश्लिल वेबसाइटहरु बन्द भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ ।
दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन बमोजिम प्राधिकरणले असोज ८ गतेदेखि नै त्यस्ता वेबसाइट बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको थियो । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हालसम्म त्यस्ता १६ हजार वेबसाइट बन्द गरिएको र अझै बन्द हुने क्रममा रहेको जनाएका छन् ।
यौनजन्य सामग्रीमा विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन तथा वेबसाइटहरु बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायक हरुलाई निर्देशन जारी गरि सकिएको र सो निर्देशनको पालना नगरिएको पाईएमा दूरसंचार ऐन, २०५३ बमोजिम जरीवाना को साथै अनुमतिपत्र रद्ध हुने सम्मको कारवाही हुने उनले जानकारी दिए ।


















