काठमाडौं / यो कुनै होटल या होष्टेल नभई अाकर्षक धर्मशाला हो ।
धर्मशाला अर्थात एकदम सस्तोमा बास बस्न सकिने तिर्थयात्रीको आश्रयस्थल । यो एकदम चिरिच्याट्ट र सुविधासम्पन्न हुने आशा हामीले गर्दैनौ तर, पशुपति क्षेत्रमा नवनिर्मित धर्मशाला यस अर्थमा फरक छ । यो कुनै राम्रो लज वा होटलभित्र पसेको महसुस हुन्छ ।
धर्मशालामा सोधपुछ गर्न आउनेको संख्या बढिरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल बताउँछन् । तिलगंगाको २५ रोपनी क्षेत्रफलमा बनेको धर्मशालामा एकपटकमा ४ सय तीर्थयात्रु बस्न सक्ने जनाए ।
धर्मशालाको सञ्चालन कोषले नै गर्नेछ । तर, कुन मोडलमा गर्ने भन्ने अहिलेसम्म टुंगिएको छैन । केही दिनभित्रै यसको टुंगो लगाइने कोषका सदस्य सचिव ढकालले जनाए ।
‘धर्मशालालाई होटल जसरी चलाउन सकिन्न’ उनले भने, ‘यहाँ तीर्थयात्री बस्ने भएकाले माछामासु र जाँड रक्सी निषेध गरिन्छ ।’
यो धर्मशाला परिसरमा झण्डै ६० भन्दा बढी सवारीले पार्किङ गर्न सक्छन् । धर्मशालाभित्र १२ वटासम्म बेड भएको ‘कमन रुम’हरु धेरै छन् । सबै बेडरुमका लागि छुट्टाछुट्टै सामान राख्ने घर्राहरु पनि राखिएका छन् । यसमा दुई जनामात्रै बस्न मिल्ने एट्याच बाथरुमसहितका स्वीट बेडरुमहरु पनि छन् ।
यस्तै एउटा सिंगो परिवार नै आएर बस्न सक्ने गरी भीआईपी रुम पनि छ, जसमा छुट्टै बेडरुमहरु छन् । यी रुम निकै ‘स्रेक्रेट’ छन् । भीआईपी रुमभित्रै किचेनसेमत छ ।
धर्मशालाभित्रै भजनकीर्तनका लागि हल पनि बनाइएको छ । बहुउपयोगी हुने गरी अर्को खुला हल पनि छ ।अनलाईनखबर

















